ताजा समाचार


राष्ट्रपति भण्डारी बंगलादेशमा, विमानस्थलमा रेड कार्पेट ओछ्याएर स्वागत

द रियल समाचार     २०७७ चैत्र ९, सोमबार, १२: ४० मा प्रकाशित




ढाका । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका क्रममा बंगलादेशको राजधानी ढाका पुगेकी छन्।

उनलाई विमानस्थलमा रेड कार्पेट ओछ्याएर स्वागत गरिएको छ । राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गरेका छन्।

राष्ट्रपति भण्डारीको स्वागतमा बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री मोहम्मद शाहरिरार आलमलगायत विमानस्थल पुगेका थिए।

त्यस क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएको थियो ।

राष्ट्रपति भण्डारी सोमबार बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्।

विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशको स्वतन्त्रता सङ्ग्रामका सहिदहरूको शालिकमा माल्यार्पण गर्न पुगेकी छन्। नेपालको राष्ट्राध्यक्षबाट ४२ वर्षपछि बंगलादेशको राजकीय भ्रमण भएको हो ।

तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९७८ मा बंगलादेशको द्विपक्षीय भ्रमण गरेपछि राष्ट्राध्यक्षका रूपमा नेपालबाट भ्रमण भएको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top