काठमाण्डौ । आजदेखि नेपालमा एक सिङे गैँडाको गणना हुँदैछ । दुर्लभ मानिएको गैँडाका आजदेखि गणना सुरु हुने भएको हो ।
गैँडा गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जले सबै तयारी पूरा गरेको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा आजदेखि एकैसाथ गैँडाको गणना हुन लागेको हो । यसअघि तोकिएकोभन्दा २ वर्षपछि गणना हुन लागेको हो ।
गैँडा गणनाको सुरुवात वनमन्त्री प्रेम आले मगरले पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वनदेवीको पूजा गरेर गर्ने तयारी छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा गैँडा गणना हुन लागेको हो ।
नेपालमा खासगरी चितवन र पर्सासँगै बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा पाइन्छ । पहिलो चरणमा चितवन र पर्सामा तथा चैत १७ देखि बर्दिया र चैत १९ देखि शुक्लाफाँटामा गैँडा गणना गर्ने विभागको तयारी छ ।
चैतको अन्तिमसम्ममा गणना सकिने र वैशाखको पहिलो साता नतिजा सार्वजनिक गर्ने विभागको तयारी छ । आर्थिक अभाव र कोभिडका कारण यसअघि समयमा गणना हुन नसकेको पनि विभागले जनाएको छ ।
विभागका अनुसार गैँडा गणनाका लागि हात्ती र गणकहरु छनोटको काम भैसकेको छ । उनीहरुलाई आवश्यक तालिमसमेत दिइएको छ । गणनामा ६० वटा हात्ती प्रयोग गरिँदै छ ।
गैँडा गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायत प्रयोग गर्ने विभागको तयारी छ । अहिलेको गणनाले देशमा रहेका गैँडाको वास्तविक संख्या थाहा लाग्ने विभागले जनाएको छ ।
यसअघि, सन् २०१५ मा गरिएको गणनामा नेपालमा कूल ६४५ गैँडा थिए । चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा थिए । पछिल्लो २ वर्षमा मात्रै ५६ वटा गैँडा विभिन्न कारणले मरेको तथ्यांक रहेको छ ।
प्रतिक्रिया