ताजा समाचार


दुईदिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

द रियल समाचार     २०७७ चैत्र ९, सोमबार, १०: ४७ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गरेकी छन् ।

नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान गरेकी हुन् । समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उनी बंगलादेश गएकी हुन् ।

राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम पनि छ ।

सो कार्यक्रममा भण्डारी नेपाल-बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने छिन् ।

त्यसैगरी भण्डारी समकक्षीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने छिन् । राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारिकको भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ ।

ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ । भण्डारीको भ्रमण दलमा एक सांस्कृतिक टोली पनि रहने छ ।

राष्ट्रपतिको भ्रमण दलमा को–को ?

राष्ट्रपति भण्डारीको भ्रमण दलमा राष्ट्रपतिका छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चारविज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपति कार्यालयका सचिव डा.हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा.भेषराज अधिकारी रहेका छन् ।

यस्तै, परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञ बहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा. कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका समेत गरी ५४ जना भ्रमण दलमा रहेका छन् ।

भ्रमण दलमा कलाकार अशोकुमार राईको नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीनजना सञ्चारकर्मी समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top