ताजा समाचार


उद्योग वाणिज्य संघमार्फत हुन नसकेका कामहरु पूरा गरेर देखाउनेछु : साह

द रियल समाचार     २०७७ चैत्र ८, आईतवार, १९: ५४ मा प्रकाशित




जनकपुरधाम । उद्योगी व्यापारीहरुको छाता संगठन जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा वर्तमान बरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साहले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी चैत २८ गते जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा उनले औपचारिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारीको घोषणा गरे ।

साह बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभन्दा अगाडी जनकपुरधाम उद्योग वाणिज्य संघमा कोषाध्यक्ष र महासचिव भएर समेत काम गरिसकेका छन् । आफूसंग संघको विभिन्न पदमा बसेर काम गर्ने अनुभव रहेकोले अध्यक्ष पदमा उम्मेदवारी दिएको साहले बताए ।

उनले व्यापारीहरुको सम्मानका लागि आफूभन्दा अग्रजहरुको सरसल्लाह लिएर अगाडी बढ्ने आफ्नो धोको रहेको सुनाए । उनले पछिल्लो समय उद्योग वाणिज्य संघमार्फत हुन नसकेका कामहरु पूरा गरेर देखाउने दावी गरे ।

उनले आफू नेतृत्वमा आए व्यापारीहरुलाई सामान आयात तथा निर्यातका लागि देखिएको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने,‘जनकपुरधाम बजार पछिल्लो समय व्यवस्थित हुँदै गईरहेको छ अब यहाँ व्यापारीहरुका लागि सहज वातावरण निर्माण गर्नु आवश्यक रहेको छ, जसकालागि म पहल गर्नेछु ।’

जनकपुरधाममा पर्यटकहरु आउँछन तर यहाँ वास बस्दैनन् जसले गर्दा यहाँको होटेल व्यवसाय थला परिरहेकोमा उनले दुःख व्यक्त गरे । साहले जनकपुरधामका पर्यटकीय स्थलहरुलाई व्यवस्थित बनाउनुका साथै यहाँ घुम्न आउने पर्यटकका लागि समेत घुम्ने वातावरणको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्दै अब जनकपुरधामको व्यापारिक क्षेत्रले समेत विकास गर्ने दावी गरे ।

यसका लागि एउटा सफल प्रयास रहेको आवश्यक्ता देखाउँदै उनले आफ्नो नेतृत्वमा स्थानीय, प्रदेश तथा संघ सरकारसंग समन्वय गरेर अगाडी बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top