ताजा समाचार


म्याद गुज्रिएको लामखुट्टेको औषधी छर्किएपछि सिङ्गो गाउँमै स्वास्थ्य समस्या

द रियल समाचार     २०७७ चैत्र ८, आईतवार, १५: ४१ मा प्रकाशित




जनकपुरधाम। महोत्तरीमा म्याद गुज्रिएको लामखुट्टेको औषधि छर्किएपछि सिङ्गो गाउँमै स्वास्थ्य समस्या देखिएको छ ।

जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर-५ मा म्याद गुज्रिएको लामखुट्टेको औषधी छर्किएपछि त्यहाँका स्थानीयमा स्वास्थ्य समस्या देखिएको हो ।

जलेश्वर वडा नम्बर-५ मा रहेको पर्सा, पतैली, चौरिया र बिसनपुर गाउँमा केही दिन अगाडीदेखि लामखुट्टेको औषधी वडा कार्यालयले छर्कन लगाएको थियो । औषधी छर्किएको केही घण्टा नबित्दै जलेश्वर नगरपालिका वडा नम्बर-५ का स्थानीय बालबालिका, युवा, बृद्ध देखि पशु चौपायामा समेत त्यसको समस्या देखिएको हो । बालबालिकाहरु रुनु, चिलाउनु, वान्ता लाग्नु, जिउ फुल्नु लगायतका समस्याहरु देखिन थालिएको छ ।

स्थानीय स्वास्थ्यकर्मी सरोज चौधरीका अनुसार मानिसलाई मात्र नभई पशु चौपायामा समेत त्यसको गलत प्रभाव परेको छ । उनले भने,‘गाउँका व्यक्तिहरु एकाएक सिट्रिच, सिटामोल, एन्टीबायोटिक लगायतका औषधि खोज्न थालेपछि मात्रै म्याद गुज्रिएको औषधि छर्किएपछि यस्तो समस्या उत्पन्न भएको थाहा पाएँ ।’

चौधरीले गाउँका मानिसहरुमा चिलाउने, जिउ फुल्ने लगायतका समस्या शुरु भएपछि खोज्दै जाँदा म्याद गुज्रिएको औषधि छर्किएको थाहा पाएको बताए । लामखुट्टेको औषधि छर्किएको केही घण्टा नबित्दै गाउँमा त्रास मच्यो कसैलाई चिलाउने, कसैलाई ज्वरो आउने, बालबालिकाहरु रुने लगायतका समस्या शुरु भयो, आफूलाई पनि यस्तै समस्या देखियो स्थानीय शत्रुध्न शर्माले बताए ।

उनले भने,‘वडा कार्यालयले लामखुट्टेको औषधि छर्कन लगायो, लामखुट्टेको आतंक त कम भएन तर हामी गाउँवासीमा विभिन्न खाले समस्याहरु देखिन थाल्यो ।’

यता जलेश्वर नगरपालिका वडा नम्बर-५ का वडाध्यक्ष राकेश राउतले म्याद गुज्रिएको औषधि छर्किएको आरोप निराधार रहेको दावी गरे । उनले म्याद गुज्रिएको औषधि छर्केका कारण यस्तो समस्या नदेखिएको बताए । आवश्यक मात्राभन्दा बढी औषधी प्रयोग गरिएकोले यस्तो समस्या श्रृजना भएको हुनसक्ने उनको दावी छ ।

वडाध्यक्ष राउतले ८ लिटर पानीमा एउटा प्याकेट मिलाउनु पर्नेमा त्यसभन्दा बढी प्याकेट मिसाइएकाले यो समस्या आएको हुन सक्ने जिकिर गरे । वडाध्यक्ष राउतले लामखुट्टेको औषधि ६ महिना अगाडी वडा कार्यालयमा ल्याइएको र औषधिको म्याद गुज्रिन २ महिना अझै बाँकी रहेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top