पर्सा । कोरोना महामारीका बेला खटिए वापतको जोखिम भत्ता नपाएको भन्दै वीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् ।
जोखिम भत्ताको रकम सरकारले अस्पतालको खातामा पठाइसकेको भएपनि अस्पताल प्रशासनले वितरण नगरेकाले विरोधमा उत्रनु परेको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले बताए । महामारीका बेला आफ्नो ज्यानको कुनै ख्याल नगरी घरपरिवारबाट महिनौसम्म टाढा बसेर काम गरेपनि अहिलेसम्म जोखिम भत्ता नपाएको उनको गुनासो छ ।
अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी करीब ४ सय जनाले साउनयताको जोखिम भत्ता पाउन सकेका छैनन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुरले जोखिम भत्ता अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीले माग गरेका कारण वितरण गर्न समस्या भएको बताए ।
जोखिम भत्ताको लागि कोरोनाका बेला काम गर्ने कर्मचारीको ड्युटी प्रमाणित गर्न एक समिति पनि बनाइएको र उक्त समितिले ड्युटी प्रमाणित गरेर दिए लगत्तै भत्ता वितरण हुने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया