ताजा समाचार


गोरधोइ पोखरीमा पानी नै छैन् ! यसवर्ष अन्तरगृह परिक्रमामा सहभागी श्रद्धालुले खुट्टा कहाँ पखाल्छन् ?

द रियल समाचार     २०७७ चैत्र ७, शनिबार, १७: ४५ मा प्रकाशित




-ज्योति झा, जनकपुरधाम । रामायणकालीन समयमा भगवान रामसँग आएका जन्तीहरुको खुट्टा पखाल्नका लागि तत्कालीन समयमा खनिएको जनकपुरधामको पिडारीचोकस्थित गोरधोई पोखरी अहिले खाल्डोमा परिणत भएको छ । सो पोखरीमा अहिले पानी नै छैन् । सडक विस्तारको नाममा पोखरी पुरिदैं छ ।

१५ दिने मिथिला माध्यमिकी परिक्रमा समापन पश्चात अन्तिम दिनमा जनकपुरधामको अन्तरगृह परिक्रमा गर्ने क्रममा परिक्रमा यात्रीहरु गोरधोइ पोखरीमै आफ्नो खुट्टा पखाल्छन् । अन्तरगृह परिक्रमाको क्रममा सो पोखरीमा खुट्टा पखालेर नै श्रद्धालु भक्तजनहरु परिक्रमाको क्रमलाई अगाडी बढाउँदै आएका छन् ।

आफ्नो छुट्टै महत्व बोकेको सो विशाल पोखरी धनुषाको जटही देखि ढल्केबरसम्म निर्माण भईरहेको सिक्सलेन सडकका कारण खाल्डोमा परिणत हुन पुगेको छ । गोरधोई पोखरीको आधा भाग पुरेर सडक बनाउने काम भइरहेको छ । पटक पटक चारै तर्फबाट अतिक्रमणको मार खेप्दै आएका सो ऐतिहासीक पोखरी अब समाप्तीकै कगारमा पुगेको छ ।

यस सम्बन्धमा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्रले सो पोखरीको आफ्नो छुट्टै पौराणीक महत्वको रहेकोले त्यसलाई बचाउनुपर्ने आवश्यकता रहेको स्विकार गरिन् । उनले भनिन,‘जनकपुरधाममा यसवर्ष परिक्रमामा सहभागी श्रद्धालुले फागुन १५ गते शनिबार अन्तरगृह परिक्रमा घुम्ने छन् । हामी त्यसअघि नै गोरधोई पोखरीमा पानीको व्यवस्थापन मिलाउने छौं ।’

उपमेयर मिश्रले सोमबार बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्सँग छलफल गरेर सो पोखरीमा तत्काल पानीको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल कुमार मिश्रले जनकपुरधाम मठमन्दिर तथा पोखरीहरुले नै चिनिने भएकोले यस्ता धार्मिक महत्व राख्ने पोखरीहरुलाई बचाउनुपर्ने आवश्कता रहेको बताए ।

उनले भने,‘एकातर्फ जनकपुरधाम उपमहानगरपालिकाले पोखरीहरुलाई सम्वद्र्धन गर्नका लागि करोडौंको बजेट ल्याउने र अर्को तर्फ यस्ता पोखरीहरुकै अस्तित्वनै समाप्त भइरहँदा चुप लागेर बस्नुले जनकपुरधामलाई पर्यटन क्षेत्र बनाउने सपना माथि कुठाराघात गर्नु सरह रहेको छ ।’

जनकपुरधामका धरोहरहरुलाई समाप्त नगरिक वैकल्पीक बाटो खोजेर विकास निमार्णको कार्य अगाडी बढाउनुपर्ने स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top