ताजा समाचार


मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवनमा

द रियल समाचार     २०७७ चैत्र ७, शनिबार, १०: ०७ मा प्रकाशित




जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमा आज आठौं दिन महोत्तरीको कञ्चनवन आइपुगेको छ ।

ध्रुवकुण्डबाट एकाविहान परिक्रमाबासीहरु आज कञ्चनवन पुगेका हुन् ।

कञ्चनवनमा त्रेतायुगमा भगवान राम सीताले होली खेलेको स्मरणमा यहाँ होली खेल्ने परम्परा छ ।

यहाँ होली खेलेपछि मिथिलाञ्चल लगायत तराई मधेशमा विधिवत रुपमा होली पर्वको शुरुवात भएको मानिन्छ ।

गत शनिबारदेखि धनुषाको ठेराकचुरीबाट यात्रा सुरु गरेको माध्यमिकी परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी, भारतको मधुवनी जिल्लास्थित कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै र ध्रुवकुण्डमा पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैठौं र सातौँ दिनको रात्रि विश्राम गरिसकेका छन् ।

परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका हजारौं साधुसन्त एवं श्रद्धालुहरुको सहभागिता रहेको छ ।

जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु भएको थियो ।

परिक्रमामा सहभागीहरु अब क्रमशः कञ्चनवन हुँदै पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णीमाका दिन जनकपुरधाम फर्कने छन् ।

मिथिलाको महाकुम्भ भनेर चिनिने यस महामहोत्सवमा हजारौंको सहभागिता रहने गरेपनि यस धार्मिक यात्रालाई व्यवसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका सहायक महन्थ राम रोशन दासले बताए ।

परिक्रमामा सहभागिहरुको लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ । परिक्रमावासीहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीय बासिन्दाहरुले पनि सहभागीहरुका लागि अन्न, दाउराको प्रवन्ध मिलाउँछन् ।

नेपाल भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु छन् ।

मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ ।

फागु पुर्णिमाका दिन अन्तगृह परिक्रमा समाप्त भएपछि त्यसको भोलिपल्ट तराईका जिल्लाहरुमा होली मनाउने परम्परा छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top