जनकपुरधाम । महोत्तरीमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ बैरियाका बजरंगी साहका २० वर्षीय छोरा नितेशकुमार साह रहेका छन् । ट्रयाक्टरले ठक्कर दिँदा साहको मृत्यु भएको हो ।
मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत मटिहानी नगरपालिका–२ स्थित आवर गाउँमा धिरापुरबाट मटिहानी बजारतर्फ जाँदै गरेको ज १ त ७४८४ नम्बरको ट्रयाक्टरले नम्बर खुल्न नसकेको मोटरसाइकललाई ठक्कर दिंदा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
बुधबार साँझ करीब साढे ७ बजे भएको दुर्घटनामा परी गम्भीर घाइते भएका नितेशलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी महोत्तरीको मटिहानी नगरपालिका–८ का राजेन्द्र साहका २६ वर्षीय छोरा सरोजकुमार साह गम्भीर घाइते भएका छन् । उनको मटिहानी हेल्थ केयरमा उपचार भइरहेको परिवारजनले जनाएका छन् ।
ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा राखेको तथा घटना सम्बन्धमा थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
तस्बिर : सांकेतिक
प्रतिक्रिया