ताजा समाचार


वडाध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वडासदस्यले लगाए कार्यालयमा ताला

द रियल समाचार     २०७७ चैत्र ५, बिहीबार, १२: १८ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको एक वडा कार्यालयमा वडाध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनप्रतिनिधिहरुले नै तालाबन्दी गरेका छन् ।

वडा नम्बर–२१ कुर्थास्थित वडा कार्यालयमा तीनजना वडासदस्यहरु मिलेर वडा कार्यालयमा ताला लगाएका हुन् । वडा सदस्यहरु महेन्द्र महतो, बैद्यनाथ पण्डित र ककुन्ती देवी महराले स्थानीयवासीको सहयोगमा कार्यालयमा तालाबन्दी गरेका छन् । वडा सदस्य महतोले वडाध्यक्ष रामेश्वर महासेठले हरहिसाब सार्वजनिक नगरेको, योजना छनौटमा मनोमानी गरेको र सडक निर्माणमा काखापाखा गरेको आरोप लगाउँदै विभिन्न १२ बुँदे मागसहित आफूहरुले तालाबन्दी गरेको बताए ।

पटक पटक हरहिसाब सार्वजनिक गर्न र सडक निर्माण नक्सा अनुसार गर्न आग्रह गरेपनि वडाध्यक्ष महासेठले वेवास्ता गरेको उनको आरोप छ । वडाध्यक्ष महासेठले नातेदारलाई उपभोक्ता समिति बनाएर योजना सञ्चालन गरिरहेको पनि उनको गुनासो छ । यसअघि सदस्यहरुले उपमहानगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामासमेत निवेदन दर्ता गराएका थिए । तर, नगर प्रमुख लालकिशोर साह र प्रमुख जिल्ला अधिकारीले चासो नलिएपछि बाध्य भएर तालाबन्दी गरेको उनीहरुले बताए ।

वडा स्तरीय अनुगमन समिति चयन गर्नुपर्ने, वडामा कुनै काम हुँदा अनिवार्य वडा सदस्यको उपस्थिति हुनुपर्ने, योजना तर्जुमा स्थानीय र वडा सदस्यको सल्लाहमा हुनपर्ने, आय–व्यय सार्वजनिक गर्नुपर्ने र विकास निर्माणको काममा होर्डिङ बोर्ड लगाउनुपर्नेलगायत वडा सदस्यहरुको १२ बुँदे माग छ ।

वडा सदस्य बैद्यनाथ पण्डितका अनुसार वडाध्यक्षले सडक निर्माणमा आफ्नो भाई नरेश महासेठको घर बचाउन सार्वजनिक जग्गा मिचेका छन् । उनले भने, ‘नापी हुँदा सात फिट नरेशको घर भत्किन्छ भनियो । तर, वडाध्यक्ष महासेठले सार्वजनिक कुट्टीको जग्गा मिचेर आफ्ना भाइको घर बचाए ।’

भोटको हिसाबले व्यक्तिगत रिसइबीका कारण वडाध्यक्षले कसैको घर, सार्वजनिक इनार र कुट्टी भत्काउने कार्य गरेको उनको आरोप छ । उनले वडाध्यक्ष महासेठले बल प्रयोग गरेर नक्सा विपरीत सडक बनाउने प्रयास गरेको समेत दावी गरे ।

उनले भने, ‘कुर्थास्थित बनौझिया टोलमा क्षेत्रीय सडक निर्माण भइरहेको छ । १३ फिटबाट सडक ३३ फिट निर्माण हुँदैछ । मिडिल प्वाइन्ट कायम गरेर दश÷दश फिट दुबैतर्फबाट लिनुपर्नेमा वडाध्यक्षले आफ्नो भाईको घर बचाउन कुट्टीको जमिण मिचेका छन् ।’

वडाध्यक्षको भाई नरेश महासेठको घर सात फिट भत्काउनुपर्ने स्थानीयको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top