ताजा समाचार


काँग्रेस नेता कोइरालाको निधन

द रियल समाचार     २०७७ चैत्र ५, बिहीबार, ०९: २५ मा प्रकाशित




विराटनगर । नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरका संस्थापक मेयर अशोक कोइरालाको निधन भएको छ ।

संविधासभा सदस्यसमेत रहेका ७७ वर्षीय कोइरालाको बिहीबार बिहान १ बजे मृत्यु भएको हो ।

नेपाली काँग्रेस मोरङका सचिव नागेश कोइरालाका अनुसार नेता कोइरालामा मुटु रोगको समस्या थियो । निमोनिया पनि भएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति न्यूरो अस्पतालमा भर्ना गरिएका कोइरालाको बिहीबार बिहान मृत्यु भएको हो ।

कोइराला परिवारका सदस्य अशोक काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व.सुशील कोइरालाका सहोदर भाइ हुन् । बुवा बोधप्रसाद कोइराला र आमा कुमोदिनी कोइरालाको पाँचौ सन्तानका रुपमा उनको विराटनगरमा नै जन्म भएको थियो ।

नेता कोइराला २०४४ सालमा नेपाली काँग्रेस मोरङको सभापति बनेका थिए । लामो समय राजनीतिमा सक्रिय रहेका कोइराला केही वर्षयता स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिमा थिएनन् ।

निधनपछि उनको शव विराटनगर महानगरपालिका-८ स्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न काँग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक एवं अन्य दलका नेता कार्यकर्ता उनको निवासमा भेला भएका छन् ।

कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top