जनकपुरधाम । विश्वको सबैभन्दा लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिलाको महाकुम्भ मिथिला माध्यमिकी परिक्रमा आज पाँचौ दिन महोत्तरीको सदरमुकाम जलेश्वर आइपुगेको छ ।
मटिहानीबाट एकाविहान परिक्रमाबासीहरु आज जलेश्वर पुगेका हुन् ।
गत शनिबारबाट धनुषाको ठेराकचुरीदेखि यात्रा सुरु गरेको माध्यमिकी परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी, भारतको मधुवनी जिल्लास्थित कल्याणेश्वर, गिरिजास्थान र मटिहानीमा पहिलो, दोस्रो, तेस्रो र चौथो दिनको रात्रि विश्राम गरिसकेका छन् ।
परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका हजारौं साधुसन्त एवं श्रद्धालुहरुको सहभागिता रहेको छ ।
यसैबिच जलेश्वर नगरपालिकाले आज स्थानीय विदाको घोषणा गरेको छ । मिथिला माध्यमिकी परिक्रमाको अवसरमा जलेश्वर नगरपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा विदा दिइएको हो ।
जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु भएको थियो ।
परिक्रमामा सहभागीहरु अब क्रमशः जलेश्वर हुँदै मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णीमाका दिन जनकपुरधाम फर्कने छन् ।
मिथिलाको महाकुम्भ भनेर चिनिने यस महामहोत्सवमा हजारौंको सहभागिता रहने गरेपनि यस धार्मिक यात्रालाई व्यवसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका सहायक महन्थ राम रोशन दासले बताए ।
परिक्रमामा सहभागिहरुको लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ । परिक्रमावासीहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीय बासिन्दाहरुले पनि सहभागीहरुका लागि अन्न, दाउराको प्रवन्ध मिलाउँछन् ।
नेपाल भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु छन् ।
मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।
परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सितामढी, बैद्यनाथधामका साधुसन्तहरु समेत उल्लेख्य रुपमा सहभागी हुने गर्दछन् ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ ।
फागु पुर्णिमाका दिन अन्तगृह परिक्रमा समाप्त भएपछि त्यसको भोलिपल्ट तराईका जिल्लाहरुमा होली मनाउने परम्परा छ ।
प्रतिक्रिया