ताजा समाचार


खोप लगाएपछि आमाको मृत्यु भएको छोराको दावी, सम्बन्धित निकाय भन्छन, ‘यस्तो हुनै सक्दैन्

द रियल समाचार     २०७७ चैत्र ३, मंगलवार, १९: ३८ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ मा कोरोना भ्याक्सिनको खोप लगाएकी एक बृद्धाको मृत्यु भएको परिवारजनले आरोप लगाएको छ ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर–३ मलाही बस्ने ७१ वर्षीया धनमन्त्री देवीको मृत्यु भएको हो । कोभिसिल्ड भ्याक्सिन प्रयोग गरेपछि उनको मृत्यु भएको परिवारजनको दावी छ ।

खोप लगाएपछि ज्वरो आएको र श्वासप्रश्वासमा समेत कमि भई लगातार वान्ता भएपश्चात मृत्यु भएको उनका छोरा भविक्षण सहनीले बताए ।

फागुन २४ गते दिउँसो करिब साढे २ बजे खोप लगाएको उनको राती साढे १० बजेको समयमा मृत्यु भएको थियो । उनले गरुडा नगरपालिका वडा नम्बर–३ स्थित मलाही स्वास्थ्य चौकीमा खोप लगाएकी थिईन् ।

घटना सम्बन्धमा भविक्षणले उक्त स्वास्थ्य चौकीलाई जानकारी गराउँदा अनुसन्धानका सुशिल पाण्डे सहितको टोलीले घटनास्थलमै पुगी अनुगमन गरेको र मृतकको पोष्टमार्टम नगराउन दवाव दिएको बताए ।

उनले जिल्ला स्वास्थ्य कार्यालयको टोली समेत आएर निरिक्षण गरी स्वास्थ्य निर्देशनालयबाट हुने सहयोग गराई दिने प्रतिबद्धता जनाएपछि पोष्टमार्टम बिना नै दाहसंस्कार गरेपनि हालसम्म कुनै पहल नभएको दुःखेसो सुनाए ।

यता, रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यस घटनाप्रति अनभिज्ञता जनाएका छन् । उनले रौतहटमा यस्तो कुनै घटना भएको आफ्नो जानकारीमा नरहेको बताए ।

यस सम्बन्धमा प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले उनको मृत्यु खोपको कारण नभएको जनाएका छन् ।
उनले भने,‘कोरोनाविरुद्धको भ्याक्सिन लगाएपछि त्यसको असर आधा घण्टामै देखिने भएकोले मृतकमा त्यस्तो कुनै लक्षण आधा घण्टाभित्र देखिएको थिएन । त्यसैले उनको मृत्युको कारण भ्याक्सिन नै हो भन्न मिल्दैन । यद्यपी यस घटना सम्बन्धमा हामीले केन्द्रमा जानकारी गराईसकेका छौं । उनको मृत्युको विषयमा केन्द्रले नै जाँच गर्नेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top