जनकपुरधाम । कोरोना महामारीले बन्द रहेका विद्यालयहरु तिन महिना अघि नै खुलेपनि सामुदायिक विद्यालयमा भने दिवाखाजा अझै सुरु हुन सकेको छैन् ।
खाजाको समयमा विद्यार्थी चौरमा भोकभोकै बस्न बाध्य छन भने केही विद्यार्थी विद्यालय छाडेर घर जाने गरेका छन् । महोत्तरीस्थित जनता मावि मडैका प्रधानाध्यापक अजयकुमार झाले गाउँपालिकाले समयमा रकम निकासा नगरेकोले सो कार्यक्रम संचालन गर्न समस्या भईरहेको बताए । उनले विद्यालयले आर्थिक भार धान्नसक्ने अवस्था नरहेकोले समस्या भएको बताए ।
सरकारले स्थानिय तहमा रकम पठाएपनि स्थानिय तहले विद्यालयमा रकम पठाउन आनाकानी गरेपछि नियमित रुपमा विद्यार्थीलाई दिवाखाजा उपलब्ध गराउन नसकेको शिक्षकको गुनासो छ । स्थानिय समाजसेवी धर्वेन्द्रकुमार रायले विद्यार्थीहरुलाई दिवा खाजाको रकम नपठाउनु गलत रहेको बताए । उनले यसको लागि सरोकारवाला निकाय गम्भीर बन्नुपर्नेमा जोड दिए ।
सरकारले महोत्तरीमा बालविकास र प्राथमिक तहमा ९३ हजार ५ सय ८१ बालबालिकालाई प्रत्येक दिन १५ रुपैयाँको दरले खाजा खर्च वापत १४ करोड ३ लाख ७ सय १५ रुपैयाँ निकासा गरेको छ । तर स्थानिय तहले हरेक विद्यालयलाई रकम निकासा गरेर दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन चासो दिएका छैनन् ।
महोत्तरीका जलेश्वर नगरपालिकाका प्रमुख रामाशंकर मिश्रले दिवाखाजा हरेक विद्यार्थीलाई एकैनाशको हुनुपर्नेमा आफुहरुको जोड रहेको बताए । उनले आफुहरुले यस समस्यालाई गम्भीरताका साथ लिएको बताउँदै शिक्षा समितिको बैठक बसाएर अविलम्ब रकम पठाउने प्रतिवद्धता जनाए ।
स्थानिय तहको जनप्रतिनिधिको उदासिनता र विद्यालयले स्थानिय तहबाट रकम ल्याउन चासो नदेखाएकोले दिवा खाजा कार्यक्रम प्रभावित भएको छ ।
प्रतिक्रिया