ताजा समाचार


वडाध्यक्ष साहको अगुवाईमा मास्टर सेफका उपविजेता सन्तोषलाई जनकपुरधाममा भव्य स्वागत

द रियल समाचार     २०७७ चैत्र १, आईतवार, १८: ५१ मा प्रकाशित




जनकपुरधाम । बिबिसी मास्टर सेफका उपविजेता सन्तोष साहलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

सिरहास्थित मिर्चैया आफ्नो पैतृक घर जान लागेका सेफ साहलाई जनकपुरधाम विमानस्थलमा ५१ किलोको माला लगाई स्वागत गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहको अगुवाईमा युवाहरुले उनलाई स्वागत गरेका थिए । जनकपुरधाम विमानस्थलमा साहको स्वागत भईरहँदा उनको आमाले समेत छोरोलाई आरती उतारिन् ।

विमानस्थलबाट जानकी मन्दिर पुगेर पूजापाठ पश्चात वडाध्यक्ष साहको निवासमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै सेफ साहले सेफप्रतिको हाम्रो समाजमा रहेको मानसिकता परिवर्तन गर्ने आफ्नो मनसाय रहेको बताए ।

उनले हाम्रो समाजमा सेफलाई होच्याउने दृष्टिले हेरिदै आएकोले मेरो नेपाल बसाईको क्रममा यसलाई परिवर्तन गर्ने योजना रहेको सुनाए । सेफको जागिर कुनै बैंक वा अन्य प्रतिष्ठानको जागिरभन्दा बढी प्रतिष्ठित जागिर रहेको उनले दावी गरे । यद्यपि होटेल तथा रेष्टुरेन्टहरुमा देखिएको जनशक्ति अभावलाई लिएर उनले दुःख व्यक्त गरे । उनले आफु पहिला लण्डनमै रेष्टुरेन्ट खोल्ने र त्यसपछि नेपालमा पनि सञ्चालन गर्ने सोंच रहेको बताए ।

सन्तोषले मिथिला भोजन, पहाडी भोजन तथा थारु भोजनको अनुसन्धान गरेर आफूले चाँडै  एउट पुस्तक समेत प्रकाशन गर्न लागेको जानकारी दिए । सन्तोष गृहजिल्ला सिरहाबाट भारतको गुजरात हुँदै लण्डन सम्मको यात्रा तय गरेका हुन् ।

तस्बिरहरु : वडाध्यक्ष दिपेन्द्र साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top