जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) समुहले लिएको छ ।
मोर्चाका केन्द्रिय अध्यक्ष जयकृष्ण गोईतले एक प्रेस विज्ञप्ती जारी गर्दै आफूहरुले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको र सोही अन्तर्गत जिल्ला मालपोत कार्यालय सिरहामा बम बिस्फोट गराएको बताए ।
जिल्ला मालपोत कार्यालय सिरहामा भ्रष्टाचार चरम सिमामा रहेकोले सचेत गराउन बम विस्फोट गराएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा कार्यालयमा भ्रष्टाचार जारी नै रहे यस भन्दा उच्च स्तरको कारबाही गर्ने चेतावनी समेत दिईएको छ ।
मधेस स्वतन्त्र देश हुनुपर्ने माग राख्दै २०६१ सालदेखि सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेसमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गराएको विज्ञप्तीमा उल्लेख छ । अहिले उत्पन्न परिस्थितिको जिम्मेवार केन्द्र र प्रदेश सरकार हुने विज्ञप्तीमार्फत जनाइएको छ ।
बिस्फोटमा परी घाइते हुनेहरुमा धनगढीमाई नगरपालिका–१३ बस्ने ३० वर्षीय दिनेशकुमार भण्डारी, कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका–६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका–१६ का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका–४ का ३८ वर्षीय फुलकुमारी ठाकुर, भगवानपुर गाउँपालिका–३ का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर रहेका छन् ।
घाइते मध्ये दिनेशलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
प्रतिक्रिया