ताजा समाचार


मैथिली विकास कोषद्वारा आयोजित मासिक मैथिली कवि तथा कथा गोष्ठी निरन्तर जारी

द रियल समाचार     २०७७ फाल्गुन २९, शनिबार, २३: ५३ मा प्रकाशित




जनकपुरधाम । मैथिली विकास कोषद्वारा माघ १० गतेदेखि शुरुवात गरिएको मासिक मैथिली कवि तथा कथा गोष्ठी निरन्तर जारी रहेको छ ।

मैथिली विकास कोषले मैथिली साहित्यको क्षेत्रमा नयाँ प्रतिभाहरूको पहिचान गर्नका लागि कवि तथा कथा गोष्ठीको शुरुवात गरेको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए ।

उनले मैथिली भाषा एवं साहित्यको विकासका लागि यस्ता प्रकारको कवि गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने दावी गरे ।

कोषले प्रत्येक महिना निरन्तर रुपमा एउटा कथा र कवि गोष्ठी आयोजना गर्ने अध्यक्ष चौधरीले जानकारी दिए । उनले कोषले महिनाको दोस्रो शनिबार कवि गोष्ठी र अन्तिम शनिबार कथा गोष्ठी आयोजना गरिरहेको बताए ।

सोहि अनुरुप आज भएको कथा गोष्ठीमा करिव १५ जना कथाकारहरुले आ–आफ्नो कथा वाचन गरेको उनले जानकारी दिए ।

प्रदेश २ मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईको प्रमुख आतिथ्यमा उद्घाटन सत्रको आयोजना गरिएको अध्यक्ष चौधरीले बताए ।

दुई सत्रमा आयोजना गरिएको कथा गोष्ठीको पहिलो सत्रको समीक्षा ई. बिनोद चन्द्र झा र दोस्रो सत्रको समीक्षा साहित्यकार रोशन जनकपुरीले गरेका थिए ।

पहिलो सत्रमा सपना कर्ण, सुजित कुमार झा, पुनम झा मैथिली, राजेन्द्र ललन र प्रियंका मिश्रले कथा वाचन गरेका थिए भने दोस्रो सत्रमा ई. बिनोदचन्द्र झा, जयन्त ठाकुर, महेन्द्र कुमार मिश्र, राकेश कुमार रसिक, प्रेम विदेह ललन, परमेश्वर कापडि, रोशन जनकपुरी र राम भरत साहले कथा वाचन गरेका थिए ।

गोष्ठीमा धनुषा र महोत्तरीका दर्जनौं साहित्यकारका साथै जनकपुरधामको तिरुहुत मा.वि. र एसएम क्याम्पसका विद्यार्थीहरु समेत सहभागी थिए ।

कवि गोष्ठीको संयोजक कवियत्री पूनम झा मैथिली र कथा गोष्ठीको संयोजक पत्रकार एवं साहित्यकार सुजित झा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top