पर्सा । प्रदेश २ को पर्सा जिल्लाबाट जर्बजस्ती करणी र करणी प्रयास गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको वीरगञ्ज महानगरपालिका-३१ बस्ने २२ वर्षीय अनिल कुशवाहा, सखुवा प्रसौनी गाउँपालिका-५ बस्ने १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका-४ बस्ने १९ वर्षीय अविशेक दास थारु रहेका छन् ।
उनीहरुलाई छुट्टाछुट्टै घटनामा संलग्न रहेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कुशवाहा र यादव जबर्जस्ती करणी र थारु जबर्जस्ती करणी उद्योगमा संलग्न भएको आरोप लागेको छ ।
१९ वर्षीया एक महिलासँग सम्बन्ध कायम गरेका अनिलले २० वर्ष उमेर पुगेपछि विवाह गर्छु भनी विश्वास दिलाउन २०७६ फाल्गुन १६ गते छेकासमेत गरेका थिए । उनले आफ्नै घरकोठा तथा गाउँघरको एकान्त स्थानमा समेत गरी पटक-पटक करणी गरेको भनी प्रहरीमा उजुरी परेको छ ।
तर सम्बन्धमा रहेको केटीलाई छोडेर कुशवाहाले अर्कै केटीसँग विवाहसमेत गरेको आरोप अनिलमाथि लागेको छ ।
जबर्जस्ती करणी कसुरमा कानुनबमोजिम कारबाही गरिपाऊँ भनी फागुन २८ गते शुक्रबार पीडितको बुवाले जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।
यता, सखुवाप्रसौनी गाउँपालिका-५ बलुवा टोल बस्ने रोशनविरुद्ध १६ वर्षीया एक बालिकालाई फागुन ८ गते राति जबर्जस्ती करणी गरेको आरोप छ । बालिकाको कोठामै गई विवाह गर्छु भनी ललाइफकाई जबरजस्ती करणी गरेको उजुरीकर्ता पक्षको आरोप छ ।
रोशनकै कारण फागुन १३ गते बिहान १ बजे केटीले घर छाडी हिँड्न बाध्य भएकी थिइन् । रोशनले भारतको गोरखपुर भन्ने ठाउँमासमेत लिएर डेरा गरी राखी पटकपटक करणी गरेको आरोप केटी पक्षको छ ।
रोशनले पटकपटक आफ्नो छोरीलाई जबर्जस्ती करणी गरेको कानुनबमोजिम कारबाही गरिपाऊँ भनी फागुन २८ गते शुक्रबार बालिकाको बुवाले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । रोशनलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरेको छ ।
त्यस्तै, फागुन २५ गते बिहान साढे ११ बजे २१ वर्षीया महिला गहुँखेतमा घाँस काटिरहेको अवस्थामा अविशेकले जर्बजस्ती करणी प्रयास गरेको उजुरी प्रहरी कार्यालयमा परेको छ ।
गहुँखेतमा घाँस काटिरहेकी महिलालाई पछाडिबाट आई एक्कासी झम्टिएर जबरजस्ती करणी गर्न खोजेको उजुरीकर्ता पक्षको आरोप छ ।
महिलाले प्रतिकार गरी भागेको र फागुन २६ गते प्रहरी कार्यालयमा उजुरी दिएपछि अविशेकलाई घरबाटै पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरु विरुद्ध आरोप अनुसारकै मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
प्रतिक्रिया