जनकपुरधाम । जनकपुरधाममा विगत लामो समयदेखि बढेको लामखुट्टे आतंकका कारण नगरबासी प्रभावित भईरहेका छन् ।
लामखुट्टेको आतंक बढ्दै गइरहेकोमा समयमा यसको नियन्त्रणतर्फ नगरप्रमुख लालकिशोर साहले कुनै चासो नदेखाएको भन्दै एकजना वडाध्यक्षले नै उनको कार्यशैलिप्रति विरोध जनाएका छन् ।
लामखुट्टे नियन्त्रणतर्फ कुनै ध्यान नदिएको भन्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष दिपेन्द्र साहले मेयर लालकिशोर साहको विरोध गरेका छन् ।
वडाध्यक्ष साहले मेयरतर्फ इंगित गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,’लाल दाइ तपाईंले बिगत केही सालदेखि भोग्दै आइरहेको सुख सुविधा र बिलाशी जीवनशैली न त तपाईंको बाजे पुर्खाबाट आएको हो न त तपाईंको मिहिनेतको पैसा हो । सबै जनताको करबाट आएको पैसा हो । तसर्थ तपाईंले जनतालाइ राहत दिन कमसेकम केही न भएपनि मच्छरको आतंकबाट जोगाउनु तपाईंको जिम्मेवारी हो र यो सानो कार्य पनि गर्नु सक्नु हुन्न भन्ने सिधा सिधा भन्दिहाल्नुस मसँग मच्छर पनि मर्दैन । जनताले मन मारेर बस्ने छन् ।’
नगरक्षेत्रमा लामखुट्टे बढेपछि नगरवासीहरु नराम्ररी प्रभावित भएका छन् । दिउँसै झुल लगाउनुपर्ने अवस्था सिर्जना भएको नगरवासीको गुनासो छ ।
नगरमा लामखुट्टे आतंक बढेपनि यसको नियन्त्रणका लागि उपमहानगरबाट कुनै प्रयास नभएको नगरवासीको गुनासो छ ।
जनकपुरधाम-७ बस्ने सुभाष कर्णले लामखुट्टेको टोकाईबाट औलो, मलेरिया, जापनिज इन्सेफलाईटिस, मेनेजाईटिस लगायतका ज्यान जान सक्ने रोगको खतरा रहेपनि जनकपुरधाम उपमहानगरपालिकाले नगरबासीको स्वास्थ्यप्रति कुनै ध्यान नदिएको गुनासो गरे ।
नगरक्षेत्रभित्र लामखुट्टेको प्रकोप बढदै गईरहेपनि नगरवासीको स्वास्थ्यमा समेत जोखिम देखा परेको स्वास्थ्यकर्मीले बताए ।
प्रतिक्रिया