जनकपुरधाम । प्रत्येक वर्ष होली पर्वको शुभ अवसरमा जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप) ले जनकपुरधाममा आयोजना गर्दै आईरहेको दुई दिवसीय होरी महोत्सव र महामुर्ख सम्मेलन यसवर्ष पनि भव्यतापुर्वक मनाउने निर्णय गरेको छ ।
मिनापले यसवर्षको होरी महोत्सव चैत १४ गते शनिबार र महामुर्ख सम्मेलन १५ गते आईतबार मनाउने निर्णय गरेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए ।
उनले होरी महोत्सवमा भाग लिने होरैया टिमहरुलाई आ-आफ्नो टिमसहित सहभागिताका लागि मिनापसँग सम्पर्क गर्न आग्रह समेत गरेका छन्।
वि.सं. २०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो ।
२०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि भ्रमर, २०६९ मा नेपाली काँग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, २०७० मा जसपा नेता डा. विजयकुमार सिंह, २०७१ मा प्रदेशसभा सदस्य शत्रुधन महतो, २०७२ मा समसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानीयालाई महामुर्खको उपाधी प्रदान गरिएको थियो ।
त्यस्तै २०७३ सालमा सप्तरीको मलेठमा तत्कालीन नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम मिनापले स्थगित गरेको थियो ।
२०७४ मा महामुर्खको उपाधी पूर्व राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, २०७५ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई प्रदान गरिएको थियो ।
त्यस्तै २०७६ सालमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई महामुर्खको उपाधि प्रदान गरिएको थियो ।
प्रतिक्रिया