जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले शुक्रबार जनकपुरधामस्थित ऐतिहासिक सरस्वती माध्यमिक विद्यालयमा पुगेर कक्षा १ का विद्यार्थीहरुलाई पढाएका छन् ।
प्रदेश प्रमुख झाले शिक्षामा जोड दिने उद्देश्यका साथ आफू विद्यालयहरुमा पुगेर कक्षा १ मा अध्ययनरत विद्यार्थीहरुलाई पढाएको बताए ।
शुक्रबार दिउँसो १ बजे सो विद्यालयमा पुगेका प्रदेश प्रमुख झाले कक्षा १ मा आधा घण्टा बालबालिकाहरुसँग बसेका थिए ।
जनकपुरधामको धरोहरको रुपमा रहेको सो विद्यालयको शैक्षिक अवस्था तथा शिक्षकहरुको समस्या बुझ्नका लागि उनी विद्यालय पुगेका थिए । प्रदेश प्रमुख झाको कक्षा १ कै विद्यार्थीहरुलाई पढाउनका लागि अन्य विद्यालयहरुमा समेत पुग्ने लक्ष्य रहेको बताइएको छ ।
विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डलले विद्यालयमा प्रदेश प्रमुखको आगमनले शिक्षकहरुमा देखिएका कमी कमजोरी समेत उजागर भएको र यसले त्यसलाई सुधार गर्ने प्रेरणा समेत मिलेको बताए । उनले भने,‘कक्षा १ बाट नै सबैको अध्ययनको शुरुवात हुने भएकोले प्रदेश प्रमुुख ज्यूले कक्षा १ मै पढाउने ईच्छा व्यक्त गर्नुभयो ।’
प्रदेश प्रमुख झाले कक्षा १ मा अध्ययनरत बालबालिकालाई पढाएपछि विद्यालयको जिर्ण भवन, शिक्षामा देखिएको कमिकमजोरीमा समेत सुधार्न ल्याउनु पर्नेलगायतको विषयमा शिक्षकहरुसँग कुराकानी गरेका थिए । देशमा दर्जनौं हस्ती उत्पादन गरेको जनकपुरधाम–९ स्थित यस एतिहासिक विद्यालयको जर्जर अवस्था बारे समेत उनले प्रधानाध्यापक मण्डलसँग जानकारी लिएका थिए ।
वि.सं. २००४ सालमा स्थापना भएको सरस्वती माध्यमिक विद्यालयमा अहिले ८ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सरस्वती विद्यालयबाट पूर्व राष्ट्रपति डा. रामवरण यादव, उपप्रधानमन्त्री ईश्वर पोखरेल, कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्व गभर्नर सत्यप्यारा श्रेष्ठ लगायतका दर्जनौं नेताहरु अध्ययन गरेका हुन् ।
विद्यालयको अवस्था
३ विघा १९ कठ्ठा क्षेत्रफलमा रहेको यस विद्यालयमा नयाँ भवन निर्माण गरिएपनि पुराना एतिहासिक भवनहरु भने बिनास हुने अवस्थामा पुगेको छ ।
जनकपुरधामको सबैभन्दा पुरानो सरस्वती माध्यमिक विद्यालयका भवनहरु जिर्ण बन्दै गएपछि त्यसको नाकारात्मक प्रभाव विद्यालयमा त परेको छ नै त्यसमाथी शैक्षिक गतिविधि समेत चौपट्ट भएको छ ।
विद्यालयमा अहिले भौतिक पुर्वाधारको अभाव देखिएकाले गतिविधिनै शुन्य जस्तो देखिएको छ । जनकपुरधामको भविष्य श्रृंर्गान महत्वपूर्ण भूमिका निर्वाह गरेको यस विद्यालयप्रति स्थानियहरुमा समेत झुकाव नदेखिएकाले यसको अवस्था जिर्ण बन्दै गईरहेको सरोकारबलाहरु बताउँछन् । । विद्यालयमा रहेका पुरानो भवन जिर्ण भएपछि विद्यालयका कक्षाकोठा नवनिर्मित भवनमा सारिएको छ । यद्यपि विद्यालयमा न्युनतम भौतिक पुर्वाधार समेत नरहेकाले विद्यालयमा समस्या भईरहेको शिक्षकहरु बताउँछन् ।
राणा शासन बिरुद्धको आन्दोलन नेपालमा उतराद्र्धमा रहेको समयमा रामस्वरुप सागरले दिएको जग्गामा बि. सं. २००४ सालमा यो विद्यालयको स्थापना भएको थियो । नेपालमा भएका प्रजातान्त्रिक आन्दोलनमा यो विद्यालयको उल्लेख्य योगदान रहेको भन्दा अतिशयोक्ति नहोला । किनभने यो विद्यालयले उत्कृष्ट चिकित्सक, शिक्षक निर्माण गर्नुका साथै देशको राजनीतिक बागडोर सम्हालेका कतिपय राजनीतिज्ञहरु समेत यस विद्यालयबाटै अध्ययन गरेको इतिहास छ ।
कुनै पनि पूर्व विद्यार्थीहरुले यस विद्यालयको खस्कदै गईरहेको अवस्थाप्रति चासो नलिएको विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डल बताउँछन् । उनले भने,‘विद्यालयले कयौँ राजनीतिज्ञ निर्माण गर्याे, कयौँ यही विद्यालयबाट अध्ययन गरेर प्रतिष्ठित चिकित्सक बने, समाजसेवी बने तर कसैले विद्यालयको दुरावस्थाप्रति चासो दे्खाएनन् ।’
प्रधानाध्यापक मण्डले पूर्व राष्ट्रपति डा. रामवरण यादवको पहलमा विद्यालयमा अहिले ८/८ कोठे २ वटा भवन निर्माण गरिएको बताए । उनले भने, ‘प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छात्राहरुलाई साइकल वितरण गर्नु अतिरिक्त कुनै सहयोग गरेको छैन ।’
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ मा रहेको सो विद्यालयप्रति स्थानिय तहदेखि प्रदेश सरकार समेतले सहयोगमा खासै चासो नदेखाएको स्थानियको दुःखेसो छ ।
प्रतिक्रिया