ताजा समाचार


प्रदेश २ : शुक्रबार बिहानसम्म १ लाख ६८ हजार ५६८ जना ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप

द रियल समाचार     २०७७ फाल्गुन २८, शुक्रबार, १८: ०९ मा प्रकाशित




जनकपुरधाम । फागुन २३ गतेदेखि सुरु गरिएको कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियानअन्तर्गत प्रदेश नम्बर २ मा शुक्रबारसम्म ६५ वर्षमाथिका डेढ लाखभन्दा बढी ज्येष्ठ नागरिकले खोप लगाएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार आज बिहानसम्ममा १ लाख ६८ हजार ५६८ जना ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको हो ।

जिल्लागत हिसाबले सबभन्दा बढि बारामा २८ हजार ६ जना ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, सर्लाहीमा २७ हजार ८२५ जना, महोत्तरीमा २४ हजार ५५५ जना, धनुषामा २० हजार ६१३ जना, सिरहामा १८ हजार ६०३ जना, रौतहटमा १४ हजार ९५९ जना, सप्तरीमा १३ हजार ८४८ जना र पर्सामा १० हजार १५९ जनाले खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत सरोज यादवले जानकारी दिए ।

फागुन २३ गतेदेखि सुरु भई चैत २ गतेसम्म चल्ने दोस्रो चरणको खोप अभियान अन्तर्गत यस प्रदेशका ३ लाख ७२ हजार २११ जना ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिइएको छ ।

अहिलेसम्म सप्तरीमा ३२.८, सिरहामा ४४.५, धनुषामा ६१.२, महोत्तरीमा ५८.२, सर्लाहीमा ५२.२, रौतहटमा २९.७, बारामा ५६.५ र पर्सामा २३.८ प्रतिशतलाई खोप लगाइसकिएको छ । अहिलेसम्म प्रदेशका ४५.३ प्रतिशत ज्येष्ठ नागरिकलाई खोप लगाइसकिएको तथ्यांक अधिकृत यादवले बताए ।

यसअघि प्रदेश २ मा पहिलो चरणमा ३४ हजार ८०४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको थियो । पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सरसफाइकर्मीलगायतकाहरुलाई लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top