काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सातवटै प्रदेशमा प्रदेश इन्चार्ज तोकेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
थापाका अनुसार प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा रामबहादुर थापा बादल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णाली प्रदेशमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।
बैठकले संगठन विभाग प्रमुखमा विष्णु पौडेललाई तोकेको छ । विदेश विभाग प्रमुख डा. राजन भट्टराई बनेका छन् भने प्रचार विभाग प्रमुख एवम् प्रवक्ता प्रदीप ज्ञवाली भएका छन् । स्कूल विभाग प्रमुख केपी ओली आफैं बसेका छन् ।
यो बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी पद खारेज गरेको छ । एमालेको दशौँ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । अब एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरेल मात्रै कायम भएको थापाले जानकारी दिए ।
प्रतिक्रिया