काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेता चयन गर्न बैठक आज संसदीय दलको बैठक बस्न लागेको छ ।
हिजो बिहीबार बसेको पदाधिकारी बैठकले संसदीय दलको नेता चयन गर्न आज पार्टी कार्यालयमा बैठक बस्ने निर्णय गरेको हो । आजको बैठकमा संसदीय दलको विधान पारित गर्ने विषयमा छलफल हुने बताइएको छ । राजपा र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको लामो समय भइसक्दासमेत संसदीय दलको नेता चुनिएको छैन ।
यसैबिच, जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा फसेका बेला राजनीतिक दलको भूमिका अनपेक्षित भएको भन्दै असन्तुष्टि पोखेका छन् । ट्विटरमार्फत प्रतिक्रिया दिँदै भट्टराईले कुर्सीको खेलमा नलागी समस्याका जड खोतल्न लाग्नु पर्ने बताएका हुन् ।
उनले देश गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको नरहेको बताएका छन् । अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चियरको खेलमा लाग्न नहुने उनको तर्क छ ।
‘समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त’ उनले सुझाएका छन । जसपा त्यो मुसा दौडमा नरहेको भट्टराईले दावी गरेका छन् ।
प्रतिक्रिया