काठमाण्डौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले उठाएका एजेण्डा पूरा भएपछि मात्र सत्ता समीकरणबारे छलफल गर्नसक्ने बताएका छन् ।
बिहीबार जसपाको केन्द्रिय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले आफूहरुका नेता, कार्यकर्ताको मुद्दा फिर्ता तथा जेलमा रहेका नेताहरुको रिहाइ गर्ने माग पूरा भएमात्रै सत्ता समीकरणको विषयमा छलफल गर्ने बताएका हुन् ।
अध्यक्ष ठाकुरले बिहीबार साँझ आफू लगायत पार्टीका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई र अशोक राईले यस विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेटघाट गरेको जानकारी दिए ।
उनले भने, ‘हाम्रो एजेण्डा यो छ कि हाम्रो पार्टीका जून सांसदहरु जेलमा छन् । प्रदेशका मन्त्रीहरुमाथि मुद्दा छ । उनीहरुको रिहाइको विषयमा र मुद्दा फिर्ताको विषयमा हामीले कुरा गरेका छौं। सत्ता समीकरणको विषयमा हामीले केही कुरा गर्ने होइन । हाम्रो एजेण्डा जुन छ, ती एजेण्डा पूरा भएपछि मात्रै हामी सत्ता समीकरणबारे सोचौंला ।’
उनले यस विषयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरिसकेको र अब काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटघाट गर्ने जानकारी दिए ।
संसदीय दलको विधान पारित गर्ने विषयमा छलफल गर्न जसपाको संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजे बस्न लागेको छ ।
प्रतिक्रिया