ताजा समाचार


भिनाजुको हत्या गर्ने सालो एक लाख धरौटीमा रिहा

द रियल समाचार     २०७७ फाल्गुन २७, बिहीबार, १८: ५२ मा प्रकाशित




जनकपुरधाम । धनुषामा भिनाजुको हत्या गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई १ लाख धरौटी बुझाएर छाड्न अदालतले आदेश दिएको छ ।

धनुषाको महेन्द्रनगरस्थित क्षीरेश्वर डिष्टिलरीका सञ्चालक प्रमोद रेग्मीको हत्या गरेका उनका सालो निरज खाती १ लाख धरौटी बुझाएर रिहा भएका छन् । खातीलाई जिल्ला अदालत धनुषाले १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश केशव अर्यालको एकल इजलासले खातीलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । आरोपितले हत्या स्वीकार गरिसकेको अवस्थामा धरौटीमा छाडनु आश्चर्यको बिषय भएको एक प्रहरी अधिकृतले बताए । उनले भने, ‘हामीले त सुक्ष्म अनुसन्धान गरेर मुद्दा दर्ता गरेका थियौंं । तर, उनलाई कसरी धरौटीमा छाड्ने आदेश आएको हो कुनै जानकारी नै भएन ।’

क्षीरेश्वरनाथ नगरपालिका–७ दुर्गा टोल बस्ने ३५ वर्षीय निरज खातीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले माघ ३० गते पक्राउ गरि सार्वजनिक गरेको थियो ।

डिष्टिलरीका सञ्चालक उदयपुरको त्रियुगा नगरपालिका–७ का प्रमोद रेग्मीको हत्या गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले खातीविरुद्ध अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो । ५४ वर्षीय प्रमोद रेग्मी भने माघ १४ गते बिहान आफू सुत्ने कोठामा मृत फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top