ताजा समाचार


सर्लाहीमा शिक्षकलाई तलब खुवाउने विषयमा विवाद, वडाध्यक्षद्वारा अधिकृत कुटिए, कर्मचारीहरु धर्नामा

द रियल समाचार     २०७७ फाल्गुन २७, बिहीबार, १५: ५३ मा प्रकाशित




सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटिएका छन् ।

जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर–१७ मा शिक्षकलाई तलब खुवाउने विषयमा विवाद हुँदा प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल र शिक्षा शाखाका कर्मचारी भूपनारायण अधिकारी रायमाथि कुटपिट गरिएको हो ।

उनीहरुमाथि सोही वडाका वडाध्यक्ष रामविश्वास राय, दुर्गा सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण राय र विद्यालयका प्रधानाध्यापक फेकु रायलगायतले कुटपिट गरेको बताइएको छ ।

वडाध्यक्षसहित आएको टोलीले एक्कासि गालीगलौज गर्दै टेबल, कुर्सी र मुक्का प्रहार गरेको प्रमुख प्रशासकीय अधिकृत भुजेलले जानकारी दिए । वडाध्यक्ष राय र शिक्षा शाखाका कर्मचारी अधिकारीबीच कुटाकुट भएको नगर शिक्षा शाखा प्रमुख अनिलकुमार साहले बताए ।
जिल्लाबाट पठाइएका केही शिक्षकलाई तलब खुवाउने विषयमा अधिकारीमाथि कुटपिट भएको उनको भनाइ छ ।

उनले भने, ‘जिल्लाले पठाएका शिक्षकहरूको अझै विभागबाट तलब आएको छैन । उहाँहरूले अबको चौमासिक तलबभत्ता आउँदा सबैलाई आउनुपर्छ भन्नुभयो, हामीले विभागबाट नआई हामी तलब खुवाउन सक्दैनौँ भन्यौँ, उहाँहरू एक्कासि गालीगलौजसहित हातपातमा उत्रिनुभयो ।’ जनप्रतिनिधिकै अगुवाइमा कर्मचारीको मनोबल कमजोर बनाउने काम भएको उनकोे गुनासो छ ।

वडाध्यक्ष रायले गत वर्ष पनि नगरमा यस्तै उत्पात मच्चाएको तर कारबाही नहुँदा उनको मनोबल बढेको नगरका स्वास्थ्य संयोजक सत्यनारायण रायको आरोप छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेश राउत र सहायक लेखापाल रामबाबु रायमाथि वडाध्यक्ष रायले दुव्र्यवहार गरेका थिए ।

आन्दोलित कर्मचारीले वडाध्यक्षमाथि कारबाहीको मागसहित नगर प्रमुख देवानन्द महतोलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । पटक–पटक कर्मचारीमाथि हातपात गर्दै आएका वडाध्यक्ष रायलाई कानुनी कारबाही नगरेसम्म कार्यालयको कामकाज ठप्प पारी अनिश्चितकालीन धर्नामा बस्ने प्रमुख प्रशासकीय अधिकृत भुजेलले बताए ।

यत, वडाध्यक्ष रायले आफूले कर्मचारीमाथि दुव्र्यवहार नगरेको दाबी गरे । आफूले अलपत्र अवस्थामा छाडिएको गाउँको सडकका कारण स्थानीयलाई सास्ती भएको कुरा जानकारी मात्र गराएको उनको दाबी छ ।

यसैबिच, जनप्रतिनिधि र उनीनिकट व्यक्तिले कुटपिट र दुव्र्यवहार गरेको भन्दै बरहथवा नगरपालिकाका कर्मचारी अनिश्चितकालीन धर्नामा बसेका छन् । कर्मचारीमाथि गालीगलौज र हातपात गर्नेमाथि कारबाहीको माग राख्दै कर्मचारी कार्यालयको मूलगेटमा धर्ना बसेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top