जनकपुरधाम । आज हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पूजाआराधना गरी महाशिवरात्री पर्व मनाउँदै छन् ।
हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइन्छ । आज बिहान र दिनभर त्रयोदशी तिथी भएपनि रातको समय चतुर्दशी भएकाले यस दिनलाई महाशिवरात्री मानिएको हो ।
महाशिवरात्रीको अवसरमा बिहानैदेखि जनकपुरधाम लगायत यस आसपासका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । जनकपुरको शिवचोकस्थित शिव मन्दिर, कपिलेश्वर नाथ, कुपेश्वर नाथ, क्षीरेश्वरनाथ लगायत जलेश्वरस्थित जलेश्वरनाथ मन्दिरमा पनि बिहानैदेखी भक्तजनहरुको भीड लागेको छ ।
जटाधारी, निलकण्ठ, भोले बाबा, देवादी देव महादेव, शंकर, कैलाशपतिलगायत विभिन्न नामले पुकारिने शिवको प्यारो दिन भनेर महाशिवरात्रीलाई मानिन्छ । पार्वतीसँग विवाह भएको दिनका रूपमा पनि लिइने यस दिनलाई शिवभक्तले विशेष महत्वको रुपमा मनाउने गरेका छन् ।
महाशिवरात्रीको अवसरमा जनकपुरधामका बिभिन्न युवा क्लबहरुले भक्तजनहरुको सुविधालाई ध्यानमा राख्दै शिव मन्दिरहरुमा राम्रो व्यवस्थापन गरेका छन् ।
यसैबिच सामाजिक तथा धार्मिक क्षेत्रमा निरन्तर क्रियाशिल रहँदै आएको जनकपुरधामस्थित दशरथ युवा कमिटीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित सन्त तुलसी दास पार्कमा यसवर्ष पनि महाशिवरात्री पर्व धुमधामका साथ मनाइरहेको छ ।
२०६६ सालदेखि प्रत्येक वर्ष मनाउँदै आएको महाशिवरात्री पर्व यसवर्ष पनि भव्यताका साथ मनाइरहेको कमिटीका अध्यक्ष लवकुमार झाले जानकारी दिएका छन् । कमिटीले यसवर्ष तीन दिवसीय महाशिवरात्री पुजनोत्सव आयोजना गरिरहेको उनले बताए ।
अध्यक्ष झाले महाशिवरात्रीको अवसरमा फागुन २५ गते मंगलबार बृहत सरसफाइ गरिएको बताए । त्यस्तै आज बिहान दशरथ तलाउको डिलमा बृक्षारोपन गर्नुका साथै कलश यात्रा समेत निकालिएको जानकारी दिए ।
शिव मन्दिरबाट सुरु हुने कलश यात्रा गंगासागरबाट जल लिएर पुनः सन्त तुलसिदास पार्कमा पुगेको थियो । कलश यात्रामा १५१ जनाको सहभागिता रहेको थियो । आजै दिउँसो २ बजे प्रसाद वित्तरण हुनुका साथै सन्ध्या ६ बजे ५ हजार १ सय दीप प्रज्वलन र राती ८ बजेदेखि पूजा सुरु हुने उनले जानकारी दिए । त्यस्तै भोली बिहान १० बजेदेखि विशेष प्रसाद वित्तरण र ४ बजे मूर्ति विसर्जन गरिने उनले बताए ।
अध्यक्ष झाले महाशिवरात्री महोत्सवको शुभ अवसरमा पूर्ववत पार्थिव मूर्ति पूजन भव्यताका साथ आयोजना भईरहेकोले सम्पूर्ण जनकपुरधामवासीलाई सन्त तुलसीदास पार्कमा आयोजना भईरहेको पूजामा स–परिवार सहभागी भईदिन आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया