जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोको संसदीय विकास कोषको योजनामा उनकै ज्वाँइले रजाई गरिरहेको पाइएको छ ।
प्रदेश २ का सभामुख सरोजकुमार यादवका राजनीतिक सल्लाहकार समेत रहेका महतोका ज्वाइँ अनिल महासेठले नेता महतोको संसदीय विकास कोषबाट हुने कामको योजना बाँड्दै आईरहेको पाइएको हो ।
यति मात्र नभई कयौँ योजनाको शिलान्यास समेत महासेठले नै गरिरहेको देखिएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर–९ स्थित ईटहर्वामा नेता महतोको संसदीय विकास कोषको रकमबाट सामुदायिक भवनको मंगलबार महासेठले शिलान्यास गरेका थिए । २० लाखको बजेट रहेको सो योजनामा त्यहाँ २ वटा पक्की कोठाको सामुदायिक भवन निर्माण गरिने लक्ष्य रहेको छ ।
स्थानीयवासीले सो भवन निर्माण आफ्नो कार्यकर्ताहरुलाई फाइदा पुर्याउने गरी योजना ल्याइएको आरोप लगाए । महतोको संसदीय विकास कोषबाट हुने कार्यका लागि उनका ज्वाँइ जसलाई चाहन्छन् उनलाई नै दिने गरेको आरोप स्थानीयको छ ।
विदेह नगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष जुमरात नदाफले शिलान्यास गर्ने दिन कार्यक्रम छ भनेर आमन्त्रित गरिए पनि कार्यक्रम बारे पूर्ववत जानकारी नगराएकाले आफु उपस्थित नभएको बताए । वडाध्यक्ष नदाफले संसदीय विकास कोषको रकममा सांसदको ज्वाँइले चलाउनु भनेको दुरुपयोग रहेको प्रतिक्रिया दिए । सांसद महतो आफै नआएर ज्वाँइलाई शिलान्यास गर्न लगाउनु कोषको दुरुपयोग रहेको उनको भनाई छ ।
महतोको संसदीय विकास कोषको रकमबाट विदेह नगरपालिका वडा नम्बर–९ मा सामुदायिक भवन निर्माणका लागि नगरपालिकासंग कुनै प्रकारको समन्वय नगरिएको नगरप्रमुख बेचन दासले बताए । उनले संसदीय विकास कोषबाट हुने कार्यका लागि स्थानीय पालिकासंग समन्वय गरी काम गर्नुपर्ने प्रावधान रहेपनि आफूहरुलाई त्यहाँ शिलान्यास गरिएको सामुदायिक भवनको निर्माण कार्य विषयमा जानकारी नरहेको बताए ।
उनले भने,‘हामीसंग यस विषयलाई लिएर समन्वय गरिएको छैन, म अब कानूनी बाटो अपनाउने योजनामा छु ।’ उनका अनुसार सोही नगरपालिकामा वडा नम्बर–३ को एक पोखरीको सौन्दर्यीकरणका लागि समेत काम अगाडी बढाइएपनि स्थानीय सरकारसँग समन्वय नगरिएको बताए ।
प्रतिक्रिया