काठमाण्डौ । काठमाण्डौ मेयर कप अन्तर्गत बुधबार भएको खेलमा काठमाण्डौ मेयर ११ माथि १०३ रनको फराकिलो जित हात पार्दै विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।
पुलिसले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले ३१.२ ओभरमा सबै विकेट गुमाउँदै ९४ मात्र बनाउन सक्यो । उसका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
काठमाडौंका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रनको योगदान दिए । २१.१ ओभरमा पवन सरार्फले आउट गराउनुअघि उनले १७ बलमा ३ चौका र २ छक्का प्रहार गरे । कृष्ण कार्कीले १९ र सिद्धान्त लोहनीले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न पुलिसका पवन सरार्फले ४, दिपेन्द्रसिंह ऐरीले ३, ललित राजवंशीले २ र सागर ढकालले १ विकेट लिए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १९७ रनमा समेटिएको थियो ।
पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रनको योगदान दिए । ३७ औं ओभरमा विपिन खत्रीले विकेट किपर खडकबहादुर बोहोराबाट क्याच गराउनुअघि उनले ५५ बलमा ४ चौका प्रहार गरे ।
कुशल भुर्तेलले ३४, पवन सरार्फले २८ र दिपेन्द्रसिंह ऐरीले २४ रनको योगदान दिए । काठमाडौंका सन्दीप लामिछाने, विपिन खत्री र हरिशंकर शाहले समान ३–३ विकेट लिँदा अनिल खरेलको नाममा १ विकेट रह्यो । प्रतियोगिताका ४ मध्ये ३ खेलमा जित दर्ता गरेको पुलिस ६ अंक जोड्दै फाइनल प्रवेश गरेको हो । ऊ अंक तालिकाको शीर्ष स्थानमा छ ।
पहिलो खेलमा बागमती प्रदेशलाई २ रनले हराएको पुलिस दोस्रो खेलमा नेपाल एपिएफसँग १ विकेट पराजित भएको थियो । तेस्रो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबमाथि ३ विकेटको जित हात पारेको थियो । काठमाडौंको यो लगातार दोस्रो पराजय हो । पहिलो खेलमा बागमती प्रदेशलाई ९४ रनले हराएको काठमाडौं दोस्रो खेलमा आर्मीसँग ५ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया