पर्सा । प्रदेश २ को आर्थिक नगरी वीरगञ्जबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३ बस्ने ३८ वर्षीय जयराम राउत कुर्मी रहेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज–६ स्थित माँ अम्बे ट्रेडर्समा काम गर्ने कुर्मीलाई स्रोत खुल्न नसकेको नेपाली ७ सात लाख ७५ हजार ४ सय ७० रुपैयाँ, भारतीय ७ हजार ४ सय रुपैयाँसहित पक्राउ गरिएको हो ।
उनको साथबाट बब्लु राजको नाममा जारी भएको नगद २ लाख र रामप्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजारको चेकसमेत बरामद गरेको जिल्ला प्रहरी कर्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेका कुर्मीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले बताए ।
ट्रेडर्सका सञ्चालक भने फरार रहेकाले उनको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया