काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले अब उधारो सम्झौता कुनैपनि हालतमा नहुने बताएका छन् ।
आज बसेको संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता महतोले पटक पटक वाचा गरेर ओलीले अहिलेसम्म आफूहरुलाई मात्र ठग्दै गरेको गुनासो गरे ।
उनले भने,‘केपी ओलीले ठग्ने बाहेक आजसम्म केही काम गरेका छैनन् । उनले हामीलाई ठगे मात्रै, हामीले अहिले पनि सबै दलसँग कुरा गर्न कार्यदल बनाएका हौँ, सत्तामा जान होइन ।’ उनले आफूहरुले अहिलेले पनि रेशम चौधरीको रिहाइ र संविधान संशोधनको मुद्दा उठाइरहेको बताए ।
उनले जसपाको कार्यदल सत्तामा जान नभइ माग पूरा गराउनका लागि बनेको बताए । उनले भने,‘माग पूरा गराउन कार्यदल बनेको हो । तर हामीले सत्ताको कुरै गर्दैनौँ भनेका छैनौँ । पहिले माग पूरा गराउने हो ।’
नेता महतोले केपी ओली र प्रचण्डले प्रतिगामी संविधान बनाएको आरोप समेत लगाए । उनले प्रश्न गर्दै भने,‘हामीले दुईतिहाइ सरकार हुँदा माग पूरा गराउन केपी ओलीलाई समर्थन गरेकै हो । खै संविधान संशोधन? खै रेशम चौधरी रिहा?’
उनले आफूहरुको माग पूरा भए जसपा सरकारमा जान सकिने धारणा राखे ।
प्रतिक्रिया