जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेश सरकारबाट प्रमाणिकरणका लागि पेश भएका दुईटा अध्यादेश फिर्ता गरिदिएका छन् ।
प्रदेश सरकारले प्रमाणिकरणका लागि स्वास्थ्य सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख समक्ष पेश गरेको थियो ।
सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनाएको विधेयक पारित गराएर प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । तर सो विधेयकमा मातृत्व सुरक्षा लगायतका विषय वस्तुहरु नसमेटिएको भन्दै आवश्यक सुझाव सहित परिमार्जन गरेर ल्याउन भन्दै प्रदेश प्रमुख झाले फिर्ता गरिदिएका हुन् ।
त्यसैगरी प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो । सो विधेयकमा किसान लगायतकाहरुलाई पदक दिने व्यवस्था नगरिएको भन्दै सुझाव सहित प्रदेशसभालाई विधेयक फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेशभित्र विशिष्ठ योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्नका लागि प्रदेश सरकारले पदक प्रदान गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्नको लागि विधेयक निर्माण गरेको थियो ।
सरकारले यसै चालु आर्थिक वर्षमा पदक वितरणको लागि करिब १० लाख रुपैयाँ पनि विनियोजन गरिसकेको छ । विधेयकमा प्रदेश स्थापना पूर्व नै नाम घोषणा गरी स्थापनाको दिन फागुन ३ गते पदक दिने गरी विधेयक प्रदेशसभाबाट पारित गराइएको थियो ।
यस सम्बन्धमा सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रमाणिकरणको लागि पठाइएको विधेयक प्रदेश प्रमुखले सुझाव सहित बढीमा दुई पटक मात्रै फिर्ता गर्न सक्ने प्रतिक्रिया दिए । उनले भने, ‘मैले फिर्ता गरिएको विधेयकको विषयमा जानकारी लिइसकेको छैन, के सुझाव दिएर पठाएको हो वा दुःख दिने कामले मात्रै फिर्ता पठाएको हो भन्ने कुरा हेरेर बताउँछु ।’
प्रदेश २ मा प्रदेशसभाबाट हालसम्म ३९ वटा विधेयक प्रमाणिकरण भइसकेका छन् ।
प्रतिक्रिया