ताजा समाचार


नारी : सहेरै बस्ने होइन, अब पालो हाम्रो

द रियल समाचार     २०७७ फाल्गुन २६, बुधबार, ११: ३६ मा प्रकाशित




प्राचिन युगदेखि नै हाम्रो समाजमा महिलाको विशेष स्थान रहिआएको छ । पौराणिक ग्रन्थमा पनि नारीलाई पुज्यनीय र देवीतुल्य मानिएको छ । एउटा धारणा पनि छ की जहाँ नारीको सम्मान हुँदैन् त्यहाँ लक्ष्मीको बास हुँदैन् । दैवीशक्ति पनि त्यहि बस्छन् जहाँ नारीले प्रतिष्ठा वा सम्मान पाउँछन् ।

भगवानले रचना गर्नुभएको एउटा सुन्दर उपहार हो नारी । नारी नभई संसारको परिकल्पना समेत गर्न सकिंदैन । शक्तिको स्वरुप हो नारी । हामी नारीलाई स्त्री, महिला भनेर सम्बोधन गर्छौं । नारीको सम्मानमा भनौं अथवा देखावटीको लागि मात्र किन न भनौं हिजोमात्र १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो । हरेक ठाउँमा कुनै न कुनै कार्यक्रमको आयोजना गरी हरेक क्षेत्रमा काम गर्ने महिलालाई बोलाएर सम्मान समेत गरियो । तर, के नारीले वास्तविक सम्मान पाइरहेका छन् त ? के हाम्रो समाजमा नारी र पुरुषलाई हेर्ने दृष्टिकोण समान छ त ? पक्कै पनि छैन् ।

एउटै काममा पुरुषले पाउने ज्याला र महिलाले पाउने ज्याला फरक छ । मान्छेको हेर्ने दृष्टिकोण फरक छ । विभेद यथावत छ । मान्छे छोरी जन्माउन डराउँछन् । किनभने छोरी सुरक्षित छैनन् । हुन त नारीको अनेकौं रुप छन् । छोरी, पत्नी, प्रेमिका, आमा, बहिनी…..तर, हरेक रुपदेखि उनीसँग जोडिएको कर्तव्य र जिम्मेवारी तोकिएको छ र त्यो कर्तव्य र उसको जिम्मेवारीलाई हरेक पटक बोध समेत गराइन्छ ।

एउटी नारीलाई हरेक पटक तिमी नारी हौ, तिम्रो दायरा सिमित छ भनेर सम्झाइन्छ । घरमा आमाले तिमी छोरी जात हाम्रो घरको इज्जत र अरुको घरको अमानत छौ त्यसैले तिमीलाई राम्ररी बस्नुपर्छ भनेर पटक पटक बोध गराइरहेकी हुन्छिन् । आफ्नै घरमा पनि यो तिम्रो घर होइन भनिन्छ । तिमी ससुराली गएपछि त्यहाँ सबैले भनेको मान्नुपर्छ । सबैले भनेको हरेक काम गर्नुपर्छ । एउटी महिलाको आफ्नो घरको कुनै ठेगान हुँदैन् । म त मनमनै सोच्न बाध्य छु । नारीको घर आखिर कुन हो ? कहाँ हो ?

हामी नारीलाई देवी भनेर पुज्छौं र लक्ष्मी मानेर घर भित्राउँछौं तर, उसको स्वतन्त्रता, सम्मान र इच्छाको घाँटी थिच्छौं । कहीँ नारी आफ्नो अधिकारबाट वञ्चित छन् भने कत्तै श्रीमानबाट तिरस्कृत र प्रताडित छन् । कत्तै आमाबुवाका लागि बोझ त कत्तै बलात्कार जस्ता जघन्य अपराधको शिकार छन् नारी । कत्तै जिउँदै जल्न समेत बाध्य छन् नारी । आफ्नो स्वतन्त्रताको घाँटी थिच्न एउटी नारीलाई नै लाचार बनाइन्छ ।

आज हाम्रो समाजमा नारीको अस्तित्वलाई मजाक बनाइएको छ । हाम्रो समाजमा बोक्सी नारी नै हुन्छन् तर पुरुष हुँदैनन् । पुरुषलाई जन्म दिएर यस संसारमा ल्याउने नारी तर त्यहि नारीको अस्मिता फेरि त्यसै पुरुषद्वारा किन लुटिन्छ ?

एका बिहानदेखि रातीसम्म घरको हरेक काम गर्ने नारी, हामीलाई पालनपोषण गर्ने नारी तर, हामी भन्छौं नारीले गरेकै के छ र ? आज हामीलाई गर्भमा नराखेको भए अथवा खाना पकाएर नखुवाएको भए सायद कुनैपनि पुरुष आज डाक्टर, इन्जिनीयर, पत्रकार, प्रहरीदेखि अन्य कुनैपनि पदमा हुँदैनथे ।

पुरुष कहिं गयो, केही गर्यो भने कुनै सवाल उठदैन तर नारीको हकमा अनेकौं प्रश्न उठछन् । किन होला यस्तो ? नारीलाई हरेक क्षेत्रमा समान सहभागिता दिइने भनिएको छ । ५० प्रतिशतको सहभागिताको कुरा समेत उठाइएको छ । तर, नारी शिक्षित र सक्षम भएपनि हरेक ठुलो पदमा पुरुष नै मात्र किन ?

विद्या दिने सरस्वती पनि नारी, धन दिने लक्ष्मी पनि नारी, शक्ति स्वरुपा दुर्गा पनि नारी । यहाँसम्म की भगवानको नाम लिंदा पनि पहिले सिता अनि मात्र राम, पहिले राधा अनि मात्र कृष्ण हुन्छन् । तरपनि यो कुरा हामी किन बिर्सेका छौं ?

शिक्षा, सुरक्षा र सम्मान हरेक नारीको अधिकार हो । हुनत छोरी र महिलाप्रति केही हदसम्म हाम्रो समाजको सोंच बदलिएको छ । तर, अहिले अझ बढि बदलावको आवश्यकता छ जस्तो मैले महशुस गरेकी छु ।

अब हामी नारीले स्वयं निर्णय लिनुपर्छ । गुलाम भएर बाँच्ने वा दुष्टको संघार गर्ने दुर्गाको रुप धारण गर्ने । सबै सुख भोग त्याग गर्ने सिता बन्ने वा राक्षसको बध गर्ने कालीको रुप धारण गर्ने । सभाको अगाडी सबैसामु अपमानित हुने द्रौपती बन्ने वा तलवार लिएर लड्ने रानी लक्ष्मीबाईको रुप धारण गर्ने । घरमा रही अपमान सहेर बस्ने वा शाषण गर्ने रजियाको रुप धारण गर्ने ।

नारीलाई अब आवश्यकता छ हिम्मत, साहस र आत्मविश्वासको……. वर्षमा एकपटक नारी दिवसको नाममा कुनै गोष्ठी, कार्यक्रम वा समारोहको आयोजना गरी नारीलाई प्रमाणपत्र दिएर नारीको सम्मान हुने होइन् । अब एउटी नारीलाई हरेक दिन सम्मान गरी उसलाई बराबरको अधिकार दिएपछि मात्र उसको असल सम्मान हुन्छ ।

नारी दिवसको सबैमा शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top