जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रदेश २ स्थित पार्टी कार्यालयमा एमालेको बोर्ड झुण्डयाएको छ ।
सर्वोच्च अदालतले नेकपा ब्यूँताउने निर्णय गरेसँगै प्रदेश पार्टी कार्यालयमा साविककै नेकपा (एमाले) को जिल्ला कार्यालय धनुषाको बोर्ड झुण्डयाइएको हो ।
३ वर्ष अघि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि जनकपुरधामस्थित मिथिला भवनमा प्रादेशिक कार्यालय स्थापना गरिएको थियो । सर्वोच्चले फागुन २३ गते नेकपालाई ब्यूँताइदिएपछि सो भवनलाई पुनः साविककै एमालेको जिल्ला कार्यालयको रुपमा परिणत गरिएको छ ।
दुबै पार्टी एक भएपछि नेकपा एमालेको जिल्ला पार्टी कार्यालयलाई प्रादेशिक कार्यालयको रुपमा परिणत गरिएको थियो भने माओवादी केन्द्रको पार्टी कार्यालयलाई जिल्ला कार्यालयको रुपमा रुपान्तरण गरिएको थियो ।
यस अघि नेकपा दाहाल–नेपाल र ओली खेमामा परिणत भएपछि मिथिला भवनलाई दुवै पक्षले प्रयोग गर्दै आईरहेको थियो ।
प्रतिक्रिया