काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ ।
सत्तारुढ नेकपा खारेज भएर साविककै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको अवस्थामा सम्भावित सत्ता समीकरणबारे छलफल गर्न जसपा संसदीय दलको बैठक सुरु भएको हो ।
साविकको नेकपा एमाले ब्यूँतिएपछि प्रतिनिधिसभा र राष्ट्रियसभामा सबैभन्दा ठूलो दल नेकपा एमाले भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसपाको सहयोग लिएर सत्तालाई निरन्तरता दिन खोजिरहेका छन् ।
माओवादीले आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्भावना भएपछि ओली छलफलमा छन् । जसपाले सर्वोच्चको निर्णयपछि उत्पन्न नयाँ परिस्थितिबारे पनि छलफल गर्ने भएको छ ।
यदि संविधान संशोधनसहितका आफूहरुका मागमा ओली तयार भएमा सरकारमा जाने सोच जसपाले बनाएको नेताहरु बताउँछन् । जसपाले आगन्तुक विदेशीलाई सिधै नेपाली नागरिकता र सुनसरी, मोरङलाई प्रदेश २ मा गाभ्नुपर्नेसहितका माग लामो समयदेखि उठाइरहेको छ ।
जसपाले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर हाल जेलमा रहेका रेशम चौधरीहरूको मुद्दा फिर्ता लगायत माग पनि राखेको छ ।
प्रतिक्रिया