एजेन्सी । नेपालको चर्चित फेन्चाइज टि–२० क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) लाई भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको कम्पनी सेभेनले सह–प्रायोजकाका रूपमा साथ दिन लागेको छ ।
भारतीय खेल सामग्री बिक्रेता सेभेन र इपिएलबीच ३ वर्षको सम्झौता भएको छ । सोमबार इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर तथा रीति ग्रुपका प्रबन्ध निर्देशक अरुण पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सेभेन कम्पनीले प्रतियोगितामा सहभागी ६ वटै टिमका लागि आवश्यक पर्ने खेल सामग्री उपलब्ध गराउनेछ । रीति ग्रुप अन्तर्गत रहेको सेभेन कम्पनी पहिलोपटक नेपाली क्रिकेटमा भित्रिएको हो । सम्झौता रकम भने गोप्य राखिएको छ ।
चौथो संस्करणको एपिएल आगामी असोज ९ देखि २३ सम्म हुनेछ । यसलाई क्यानले पनि स्वीकृति दिइसकेको छ । अघिल्लो वर्ष नै त्रिवि क्रिकेट मैदानमा चैत १ देखि १५ सम्म हुने तय भएको इपिएलको चौथो संस्करण कोरोनाका कारण स्थगित भएको थियो ।
इपिएलमा ६ फ्रेन्चाइज टोली, साविक विजेता ललितपुर प्याट्रियट्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्याडियटर्स र विराटनगर वारियर्सको सहभागिता रहनेछ ।
प्रतिक्रिया