जनकपुरधाम । प्रदेश २ सरकारले १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा घनुषाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार ५ सयभन्दा बढी छात्रालाई साइकल वितरण गरेको छ ।
नारी दिवसको अवसरमा मधेश भवनमा आयोजना गरिएको एक कार्यक्रमका बिच प्रदेश सरकारले धनुषाका विभिन्न २७ वटा विद्यालयको कक्षा ८ मा अध्ययनरत १ हजार ५ सय २० जना छात्रालाई साइकल वितरण गरेको हो ।
महिला सशक्तिकरणको उद्देश्यले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र उपसभामुख उपमाकुमारी देवले संयुक्त रुपमा साइकल वितरणको शुरुवात गरे । मुख्यमन्त्री राउत र उपसभामुख देवले छात्राहरु आँचल कुमारी ठाकुर र प्रियंका कुमारी मण्डललाई संयुक्त रुपमा साइकल हस्तान्तरण गरेर साइकल वितरणको शुभारम्भ गरे । यस वर्ष कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने लक्ष्य रहेकोे बेटी पढाउ बेटी बचाउ अभियानका संयोजक प्रियंका यादवले जानकारी दिइन् ।
यस प्रदेशमा कक्षा ८ मा कुल २७ हजार छात्रा अध्ययनरत छन् । प्रदेश सरकारले चालू आर्थिक वर्षमा कूल १७ हजार छात्रालाई साइकल वितरण गर्ने बताइएको छ । यसअघि २०७५/०७६ मा २ सय ६१ विद्यालयका १४ हजार छात्राहरुलाई सो अभियान अन्र्तगत साइकल वितरण गरिएको थियो ।
नेताहरु भाषणमा मस्त, छात्राहरु भोकभोकै
प्रदेश सरकारले धनुषाका विभिन्न छात्राहरुलाई साइकल वितरण कार्यक्रममा सहभागी हुनका लागि बोलाएको थियो । छात्राहरुलाई कार्यक्रममा सहभागी गराइएपनि उनीहरुलाई कार्यक्रम भरी भोकभोकै बस्नु परेको थियो । कार्यक्रम ११ बजे हुने भनिएपनि साढे १२ बजे मात्रै शुरु भएको थियो । साढे १२ बजे शुरु भएको सो कार्यक्रममा सहभागी हुनका लागि आएका छात्राहरु मधेश भवनमा बिहान १० बजे नै उपस्थित भईसकेका थिए ।
गाउँ गाउँबाट छात्राहरु आएका कारण उनीहरुलाई घरबाट भोकै निस्कनु परेको थियो । यद्यपि कार्यक्रमको आयोजक प्रदेश सरकारले भोकै पुगेका ती छात्राहरुका लागि नास्तासम्मको व्यवस्था पनि गरेको थिएन । कार्यक्रममा सहभागी भएका अधिकांश छात्राहरु चाउचाउ खाँदै थिए । यता नेताहरु उनीहरुको भोकको कुनै खयाल नै नगरी लामो लामो भाषण दिन मस्त थिए ।
कार्यक्रममा सहभागी भएका नेता तथा मन्त्रीहरु नारी दिवसमा मात्रै केन्द्रित नभएर त्यस बाहिरका प्रसंगहरुमा समेत भाषण दिएका थिए ।
एसिड आक्रमण गर्नेलाई सार्वजनिक स्थलमा झुण्ड्याउनु पर्छ : मुख्यमन्त्री राउत
मुख्यमन्त्री लालबाबु राउतले एसिड प्रहार गर्ने व्यक्तिलाई सार्वजनिक स्थलमा झुण्ड्याउनु पर्ने बताएका छन् । एसीड पीडित आरती साहलाई दोसला ओढाएर सम्मान गर्दै मुख्यमन्त्री राउतले भने,‘यस्तो निर्ममता देखाउने अपराधी प्रवृतिका व्यक्तिलाई सार्वजनिक स्थलमै झुण्ड्याउनु पर्छ ।’ कानूनले एसीड फाल्ने व्यक्तिलाई कडा सजाय दिने व्यवस्था गरेको छ, मुख्ययमन्त्री राउतले अगाडी भने ‘संविधानमै संशोधन गरेर भएपनि यस्ता अपराधीहरुलाई त सार्वजनिक स्थलमै झुण्ड्याउने व्यवस्था गर्नु पर्छ ।’
कानून संशोधन गरेर भएपनि यस्ता जघन्य अपराधीलाई सार्वजनिक स्थलमा झुण्डयाउने कानूनको व्यवस्था हुनुपर्ने उनको तर्क थियो । संघिय सरकारको नितिका कारण प्रदेश सरकारसंग आफ्नो प्रशासन नभएकाले पनि आशा गरे अनुरुप अपराध न्युनी करण गर्न नसकेको स्वीकार गरे । उनले भने, ‘आशा गरौँ संविधानमा व्यवस्था भए अनुसार प्रदेश सरकारले चाँडै त्यो अधिकार पाउने छ र प्रदेश सरकारले आफै प्रदेशमा अपराधहरु निर्मूल पार्नेछ ।’
उपसभामुख उपमाकुमारी देवको अध्यक्षतामा भएको सो कार्यक्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा, भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, जसपा नेपालका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, सरस्वती चौधरी, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
एसिड पीडित आरतीलाई सम्मान
नारी दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमका बिच एसिड पीडित साहलाई मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
आरतीमाथि उनका श्रीमान सञ्जीव साहले कातिक २९ गते लक्ष्मीपुजाका दिन जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित ससुरालीमा गएर एसिड प्रहार गरेका थिए । प्रहरीले एसिड प्रहार गर्ने आरतीकी श्रीमान र एसिड व्यापारीलाई पक्राउ गरेका गरिसकेका छन् । हाल सो मुद्दा जिल्ला अदालत धनुषामा चलिरहेको छ ।
एसिड प्रहार गर्ने सञ्जीव साहलाई १५ वर्ष ६ महिना जेल सजायको माग गरिएको छ । आफ्नी पत्नी आरतीमाथि एसिड प्रहार गरी अंगभंग गरेको कसुरमा ५ वर्ष, शरीर कुरूप बनाएको कसुरमा ८ वर्ष र एकीकृत कसुरमा २ वर्ष ६ महिना गरी जम्मा १५ वर्ष ६ महिना कैदसहितको अभियोग सञ्जीवविरुद्ध दर्ता गराइएको सरकारी वकिल कार्यालय धनुषाका न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए । मुद्दामा उपचार खर्च र क्षतिपूर्तिसमेत माग गरिएको छ ।
प्रतिक्रिया