जनकपुरधाम । तेजाव आक्रमणबाट पीडित जनकपुरकी आरती साहलाई प्रदेश सरकारले सम्मान गरेको छ ।
१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोमबार प्रदेश २ सरकारले आयोजना गरेको एक कार्यक्रमका बिच एसिड पीडित साहलाई मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
आरतीमाथि उनका श्रीमान सञ्जीव साहले कातिक २९ गते लक्ष्मीपुजाका दिन जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित ससुरालीमा गएर एसिड प्रहार गरेका थिए । प्रहरीले एसिड प्रहार गर्ने आरतीकी श्रीमान र एसिड व्यापारीलाई पक्राउ गरेका गरिसकेका छन् । हाल सो मुद्दा जिल्ला अदालत धनुषामा चलिरहेको छ । एसिड प्रहार गर्ने सञ्जीव साहलाई १५ वर्ष ६ महिना जेल सजायको माग गरिएको छ ।
आफ्नी पत्नी आरतीमाथि एसिड प्रहार गरी अंगभंग गरेको कसुरमा ५ वर्ष, शरीर कुरूप बनाएको कसुरमा ८ वर्ष र एकीकृत कसुरमा २ वर्ष ६ महिना गरी जम्मा १५ वर्ष ६ महिना कैदसहितको अभियोग सञ्जीवविरुद्ध दर्ता गराइएको सरकारी वकिल कार्यालय धनुषाका न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए । मुद्दामा उपचार खर्च र क्षतिपूर्तिसमेत माग गरिएको छ ।
एसिड आक्रमणबाट पीडित आरतीले एसिड प्रहार गर्ने तथा बेच्ने दुवैलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरेकी छन् । उनले मेरो श्रीमानकै कारण मात्र नभई एसिड बिक्री गर्ने व्यापारीका कारण समेत मेरो यस्तो अवस्था भएको बताईन् । आरतीले विना लाइसेन्स व्यापारीले एसिड बिक्री गरिरहेकाले एसिड फाल्ने घटना बढिरहेको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।
प्रतिक्रिया