ताजा समाचार


आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै, प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण

द रियल समाचार     २०७७ फाल्गुन २४, सोमबार, १३: ३१ मा प्रकाशित




जनकपुरधाम । आज १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाइँदै आएको छ ।

नारी दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ । त्यस्तै महिला अधिकार र महिलाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले आज विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन् ।

नारी दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न दलका नेताहरुले शुभकामना व्यक्ता गरेका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् ।

उनले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गरेकी छन् ।

यस्तै, उपराष्ट्रपति पुनले सन्देश जारी गर्दै भनेका छन्, ‘जनसंख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनु पर्दछ । संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक, महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिकरूपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव छैन ।’

दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देशमार्फत राज्यले लिएको नीतिले महिला सहभागिता र लैङ्गिक समानतामा उल्लेख्य प्रगति भएको तथा राजनीति र प्रशासन क्षेत्रमा महिला सहभागितामा उल्लेख्य वृद्धि भएको बताएका छन् । ओलले भनेका छन्, ‘शिक्षा, स्वास्थ्य, रोजगारीका सूचकहरुमा सकारात्मक सुधार भएको छ । लैंगिक विकास सूचकांकमा भएको सुधारबाट पनि सरकारको प्रयासले राम्रो प्रतिफल दिएको छ भनेर बुझ्न सकिन्छ । यद्यपि, समाजको न्यूज चेतनाका कारण महिला उत्पीडन, महिला हिंसा र दुर्व्यवहारका अवशेषहरू बाँकी छन् । यसलाई निरुत्साहित गर्न सबैको सहकार्यमा जनचेतनाको आवश्यकता रहन्छ ।’

त्यस्तै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि विज्ञप्ति जारी गर्दै शुभकामना दिएका छन् ।

यसैबिच नारी दिवसको अवसरमा प्रदेश २ सरकारले आज धनुषाका १५ सय छात्रालाई साइकल वितरण गरेको छ । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत ती छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

यस अभियान अन्तर्गत प्रदेश सरकारले दोस्रो चरणमा २० हजार साइकल वितरण गर्ने लक्ष्य लिएको छ । यसअघि पहिलो चरणमा प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत २० हजार साइकल वितरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top