ताजा समाचार


एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्कियो, पूर्वएमाले नेताहरुको राजनीतिक भविष्य संकटमा

द रियल समाचार     २०७७ फाल्गुन २३, आईतवार, १६: ३२ मा प्रकाशित




काठमाण्डौ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भएको छ ।

पार्टी विवादमा सर्वोच्च अदालतमा परेको मुद्दाको फैसलाले केपी ओली– पुष्पकमल दाहाल नेतृत्वको नेकपा खारेज गरेसँगै अब उनीहरु पूर्ववत अवस्थामै फर्किने वा पुनः प्रक्रिया पुर्याएर पार्टी एकता गर्ने विकल्प रोज्न बाध्य भएका छन् ।

२०७४ सालमा भएको निर्वाचनमा चुनावी गठबन्धन गरेर यी दुई दलले प्रतिनिधिसभामा १७४ सिट जितेका थिए । जसमा पूर्व एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो भने समानुपातिकतर्फ ४१ सिट जितेको थियो । यसरी हेर्दा पूर्व एमालेको जम्मा सिट संख्या अब १२१ कायम हुने देखिन्छ भने नेकपा माओवादी केन्द्रको प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट जितेकाले जम्मा ५३ सिट हुने देखिन्छ ।

सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा दायर रिटमाथि फैसला सुनाउँदै केपी शर्मा ओली र पुष्पकमल दाहालको नेतृत्वमा निर्वाचन आयोगमा दायर गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गरेसँगै माधवकुमार नेपाललाई उनको जन्मदिनकै दिन धक्का लागेको हो ।
उनी पछिल्लो समय प्रचण्डसँग सहकार्य गर्दै आएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विवादपछि सत्तारुढ दल राजनीतिक रुपमा विभाजित भएको थियो । विभाजित दुई खेमामध्ये एउटा खेमलाई प्रधानमन्त्री ओलीले नै नेतृत्व गर्दै आएका थिए भने अर्को खेमालाई प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रुपमा नेतृत्व गर्दै आएका थिए ।

यस्तो अवस्थामा सर्वोच्च अदालतले तत्कालीन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काएपछि माधवकुमार नेपाल, झलनाथ खनाल लगायत प्रचण्ड–माधव समूहमा रहेका पूर्वएमाले नेताहरुको राजनीतिक भविष्य संकटमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top