ताजा समाचार


प्रतिनिधिसभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदै

द रियल समाचार     २०७७ फाल्गुन २३, आईतवार, १०: १४ मा प्रकाशित




काठमाण्डौ । प्रतिनिधिसभाको सातौं अधिवेशन आजदेखि सुरु भईरहेको छ । संसद बैठक अपराह्न चार बजे बस्न लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेपनि सर्वोच्च अदालतले फागुन ११ गते त्यसलाई असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापना गर्ने फैसला गरेको थियो ।

अदालतले १३ दिनभित्र बैठक राख्न आदेश समेत दिएको थियो । सोहीअनुसार पुनर्स्थापित संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुन लागेको हो । संसद पुनर्स्थापना भएको आज १३ दिन पुगेको छ ।

आजको बैठकमा यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन हुने र त्यसपछि राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पनि वाचन गरिने छ ।

यस अधिवेशनमा प्रतिनिधिसभामा विचाराधीन विभिन्न विधेयकहरु पनि पेश हुने छन् । बैठकमा प्रतिनिधिसभाका बहालवाला तथा यसअघिका सांसदहरु गरी १४ जनाको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची समेत रहेको छ । संसद बैठकको अन्तिम कार्यसूची भने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित भएपनि औपचारिक रुपमा एउटै रहेको तथा दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता एवं प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओली भने विश्वासको मत नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने रणनीतिमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top