जनकपुरधाम । मैथिली भाषा संस्कृती, कला साहित्य एवं नाट्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद (मिनाप) को नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गराइएको छ ।
मिनापको नवनिर्मित भवनमा शनिबार आयोजित एक समारोहका बिच सर्वसम्मत चयन गरिएको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइएको हो ।
४१ औैं साधारणसभाबाट सर्वसम्मत चयन गरिएका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष मण्डलका संयोजक समेत रहेका मिनापका पूर्वअध्यक्ष सुनिल मिश्रले अध्यक्ष परमेश झालगायतकालाई सपथ ग्रहण गराउनुका साथै पद हस्तान्तरण गराएका थिए ।
पदाधिकारीहरुले मैथिली भाषाको उत्थान र विकास विस्तारमा सदैव तत्पर रहने भन्दै माँँ मैथिलीको नाममा सपथ ग्रहण गरेका हुन ।
मिनापले प्रत्येक साधारणसभामा गर्दै आएको सम्मान यसवर्ष समेत ६ जनालाई प्रदान गरेको छ । यसवर्ष मिनापका संस्थापक तथा पूर्वमहासचिव राधेश्याम पोदारलाई सम्मान गरिएको छ भने मरनोपरान्त स्व. सखिचन महरालाई सम्मान गरिएको छ । मिनापले २०५५/०५६ मा काठमाण्डौमा लोकनाटक सलहेश प्रदर्शन गर्दा महराले वाद्यवाधन गरेका थिए । उनको कदरपत्र मिनापका सदस्य गंगाकान्त मिश्रले ग्रहण गरि परिवारजनको जिम्मा लगाएका छन् ।
त्यसैगरी मिनापले चारजना पत्रकारहरुलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेमा एसपी खबरका सम्पादक पुरन साह, पत्रकार तथा साहित्यकार नित्यानन्द मण्डल, अन्नपुर्ण पोष्टकी मनिका झा र जनकपुर टुडेका संजिव झा रहेका छन् । २०३६ सालमा स्थापनका भएको मिनापले आफ्नो ४१ औं साधारणसभामै गर्नुपर्ने सम्मान प्राविधिक कारणवश सपथ ग्रहण समारोहका दिन आज प्रदान गरेको हो । सम्मानित सबैलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथि प्रदेशसभा सदस्य परमेश्वर साह, विशिष्ठ अतिथि विद्वान डा. राजेन्द्र प्रसाद विमल, साहित्यकार तथा राजनितिज्ञ रोशन जनकपुरी सहितकाले आफ्ना शुभकामना मन्तव्य सहित सम्बोधन गरेको समारोहमा पत्रकार मनिका झा, नित्यानन्द मण्डल, अशोक दत्त, अनिल कर्ण, युवा अगुवा शुसिल कर्ण सहितकाले शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्ष परमेश झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिक, प्रमोद चौधरी, शैलेन्द्र मल्लिक,सन्दिप साहसहितको सहभागिता रहेको थियो ।
प्रतिक्रिया