जनकपुरधाम । बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाले नेपाली कलाकारहरुले अहिलेसम्म प्लेटफर्म पाउन नसकेको बताएकी छन् ।
शनिबार जनकपुरधाममा आयोजित जनकपुर साहित्य महोत्सवको ‘सिनेमाको रङ्ग’ सत्रमा बोल्दै उनले नेपालमा कलाकारको कमी नभएपनि उनीहरुले ठाउँ नपाएको बताएकी हुन् ।
उनले भनिन,‘मैले सानो सर्ट फिल्म स्टोरी फेस्टिवलको २/३ वर्ष अघि जज गर्ने मौकाए पाएकी थिएँ । त्यसमा यस्तो राम्रो राम्रो सिनेमाहरु हेरें, त्यतिबेला मलाई त लाग्यो । यहाँ त ट्यालेन्टको कमी रहेनछ । खाली उनीहरुले ठूलो प्लेटफार्म पाएका हुँदैनन् । ठूलो बजेट हुँदैन । जबसम्म नाम आउँदैन । तबसम्म पैसा कमाउन गाह्रो हुन्छ । सिनेमा बनाउने जुन प्रक्रिया हुन्छ त्यो लामो र कठिन हुन्छन् ।’
अर्को प्रसङ्गमा बोल्दै उनले कला, साहित्य, खेललाई सपोर्ट नगर्ने समाज खल्लो हुने गरेको बताइन् । विकसित देशहरुले कला, साहित्य, खेललाई निकै सहयोग एवं महत्व दिने गरेको बताउँदै अभिनेत्री कोइरालाले यी विधाहरुलाई राष्ट्रले महत्व दिनुपर्नेमा जोड दिइन् ।
उनले आफन्तको पहुँचले मात्रै फिल्म लगायत कुनैपनि क्षेत्रमा स्थापित हुन नसकिने बताउँदै त्यसको लागि योग्यता, क्षमता एवं अत्यन्तै मिहिनेत गर्नुपर्ने अनुभति व्यक्त गरिन् ।
‘फिल्म क्षेत्रमा मात्र होइन कुनैपनि क्षेत्रमा स्थापित हुन अत्यन्तै योग्यता क्षमतावाण, आत्मविश्वा र कडा परिश्रमको आवश्यक्ता पर्छ’ अभिनेत्री कोइरालाले भनिन् ‘फिल्मा नै कतिपय नायक नायिकाकी छोराछोरी छन् । उनीहरुले निकै मिहिनेत गरेर ठाउँ पाएका हुन्छन् । नत्र दुईतीनवटा फिल्ममा राम्रो अभिनय गर्न सकेनन् भने फ्लोप हुन्छ । त्यसपछि अघि बढ्नै सक्दैनन् ।’ अभिनेत्री कोइरालाले आफु थिएटरको सौखिन रहेको समेत बताएकी छन् ।
सोहि सत्रमा नेपाली चलचित्र जगतका महानायक राजेश हमालले आफु मैथिली सिनेमामा पनि अभिनय गर्न इच्छुक रहेको बताए ।
उनले आफू देशको सम्पूर्णभागका समूदायको प्रतिनिधित्व हुने गरी चलचित्रहरुमा अभिनय गरेको बताएका छन् ।
मधेश तथा मैथिली क्षेत्रको प्रतिनिधित्व हुने गरी अभिनय फिल्ममा किन गर्नु भएन भन्ने प्रश्नको जवाफमा अभिनेता हमालले भने,‘म मैथिली फिल्ममा अभिनय गर्न इच्छुक छु । सौख छ मैथिली फिल्ममा अभिनय गर्न । देशको पूर्वदेखि पश्चिम र हिमालदेखि तराईमधेशसम्मका सम्पूर्ण समुदायको प्रतिनिधित्व हुने अभिनय गरेको हुँ । एउटा भाषामा मात्र मैले अभिनय गरेपनि त्यो नेपाली भाषामा गरेको छु ।’
प्रतिक्रिया