जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत एक बिचौलियाले एक भारतीय महिलासँग विवाह गरि उनको सम्पूर्ण कमाइ कुम्ल्याएर सम्पर्क विहिन भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका पिंकु कुमार तिवारीले भारतको हिमाचल राज्य अन्तर्गत सिमला घर भई हाल जनकपुरधाम–७ मा बस्दै आएकी ३० वर्षीया किरण सिंहको करिव डेढ लाख रुपैयाँ लिएर सम्पर्क विहिन भएका हुन् । आफूले कमाएको पैसा लिएर तिवारी बेपत्ता भएको उनले बताईन् ।
उनले भनिन,‘पिंकुले मसँग करिव डेढ वर्षअघि विवाह गरेका थिए । विवाह गरेपछि उनले मलाई जनकपुरको भ्रमरपुराचोकमा डेरा लिएर बेग्लै राखें । मलाई धेरै दिनसम्म घर लगेनन् । मसँग हप्तामा दुई तिन पटक भेट्न आउँथे ।’
पिंकुलाई आफ्नो परिवारसँग भेटघाट गराउन पटक पटक आग्रह गरेपनि आफ्नो कुरालाई बेवास्ता गर्दै अहिलेसम्म आफ्नो घरको मुख समेत हेर्न नदिएको उनले बताईन् । उनले भनिन,‘केहिदिन अघि उनको चाला परिवर्तन भयो । आफूले सम्बन्ध सुधार गर्न खोजे पनि उनी फरार भएपछि सम्भव हुन सकेन ।’
श्रीमान् र कमाएको पैसासमेत नरहेकाले आफू बेसहारा भएको किरणले बताइन् । उनले भनिन्,‘मेरो पेटमा अहिले दुई महिनाको सन्तान छ । बिचमै बेसहारा छाडेर पिंकु अहिले अर्कै महिलासँग विवाह गर्न लागेका छन् ।’
किरणको स्थायी घर भारतको हिमाचल राज्य अन्तर्गत सिमलामा छ । रोजगारीको सिलसिलामा करिव ५ वर्षअघि जनकपुरधाम आएकी उनको पिंकुसँग भेटघाट भएको थियो । उनीहरुबिचको भेटघाट बिस्तारै प्रेममा परिवर्तन भयो । त्यसपछि पिंकुले उनलाई विवाहको प्रस्ताव राखे । उनको प्रस्तावलाई स्विकार गर्दै किरणले पिंकुसँग २०२० को जनवरी ३ तारिखका दिन प्रेम विवाह गरेका थिए ।
विवाह पश्चात केहिदिन सँगै बस्दै आएका पिंकुले पछि किरणलाई डेरामा एक्लै छाडेर आफ्नो परिवारसँग बस्न थाले । तर, घरपरिवारसँग भने किरणको भेटघाट कहिल्यै गराएनन् । किरण आफूले पनि रोजगार गर्न थाले । उनी पैसा कमाईरहेको देखेपछि पिंकु भेट्न आउँदा समय समयमा उनीसँग पैसा माग्न थालें ।
बिस्तारै बिस्तारै उनले किरणसँग फरक फरक मितिमा गरि करिव डेढ लाख रुपैयाँ लिइसकेका छन् । पैसा लिएर फरार भएका पिंकु अहिले सम्पर्क विहिन छन् । उनको मोबाइल समेत बन्द छ । यता किरण भने अहिले दुई महिनाको गर्भवती छिन् ।
किरणले आफ्नो श्रीमानलाई झिकाई आफूहरुको दाम्पत्य जिवन सँगै बसाई पाउँ भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् ।
प्रतिक्रिया