काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।
शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ’महाकाण्ड’ पुस्तकको विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूलाई प्रधानमन्त्री बन्ने चाहना नभएको बताएका हुन् ।
उनले भने, ‘म प्रधानमन्त्री हुने रेसमै छैन । म प्रधानमन्त्री हुनै चाहेको छैन, विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो । तर मलाई प्रधानमन्त्री हुनु पनि छैन । यी सबै कुरामा नलाग्नु होला ।’
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकोले काँग्रेस सडकमा प्रस्तुत नभएको पनि उनले दाबी गरे । उनले भने, ‘प्रतिनिधिसभा विघटनको गैरसंवैधानिक कदमको अदालतमा विचाराधीन मुद्दा भएकोले सडकमा जानु हुँदैन, अदालतलाई प्रेसर गर्न, धम्क्याउन हुँदैन भन्ने हाम्रो मान्यता हो । यसकारण भोलि संसदीय व्यवस्था नै चल्दैन ।’
नेकपा ओली र दाहाल–नेपाल समूह आइतबारबाट हुने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यहीअनुसार रणनीति तय गर्ने काँग्रेसको योजना छ । व्यावहारिक रूपमा नेकपा दुई समूहमा विभाजित भएपनि पार्टी विभाजन औपचारिक रूपमा नभएकाले काँग्रेसले ‘पर्ख र हेर’ को रणनीति अपनाएको हो ।
प्रतिक्रिया