ताजा समाचार


सबैभन्दा सहज पहुँचको सञ्चार माध्यम रेडियो : मन्त्री यादव

द रियल समाचार     २०७७ फाल्गुन २२, शनिबार, ०४: १३ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ का आन्तिरक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले रेडियो अहिलेपनि सबैका लागि सबैभन्दा सहज पहुँचको सञ्चार माध्यम रहेको बताएका छन् ।

जनकपुरधाममा शुक्रबार सामूदायिक रेडियो प्रशारक संघ (अकोराब) ले आयोजना गरेको ‘सामुदायिक रेडियोको समस्या र समाधान’ विषयक प्रदेशस्तरीय कार्यशालालाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो दाबी गरेका हुन् । उनले भने,‘यस प्रदेशमा पत्रिका र टेलिभिजन भन्दा पनि रेडियो नै सर्वाधिक जनतासम्म पुग्ने माध्यम हो ।’

उनले प्रदेशको रेडियो सहितका सबै सञ्चार माध्यमको विकास र समृद्विका लागि प्रदेश सरकार प्रतिवद्व रहेको बताए । सञ्चार जगतलाई व्यवस्थित बनाउन प्रदेश सरकारले आमसञ्चार प्राधिकरण तथा मिडिया काउन्सिल समेत गठन गरिसकेको र सरकारले चाँडै रेडियो र पत्रिका सञ्चालन गरी प्रदेशका दक्ष सञ्चारकर्मी तथा पत्रकारलाई जागिरको व्यवस्था गर्ने तयारीमा लागेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा, प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रिय उपाध्यक्ष निमेश कर्ण, पत्रकारहरु मनिका झा, धर्वेन्द्र झा सहितकाले मधेश आन्दोलन सहित संघियता प्राप्तीको विभिन्न आन्दोलनमा प्रदेश २ का सञ्चार माध्यमले दिएको योगदानलाई प्रदेश सरकारले उचित कदर गर्न नसकिरहेको गुनासो सुनाए ।

सामुदायिक रेडियो प्रशारक संघ प्रदेश २ का अध्यक्ष अशोक कुमार दत्तको अध्यक्षतामा आयाजित कार्यशालामा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका अध्यक्ष कृष्णहरी भट्टराई सहितकाहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top