बारा । प्रदेश २ को बारा जिल्लामा अपहरण मुद्दाका एक फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका–८ बस्ने ४६ वर्षीय जगदिश दास रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराले एकजना बस धनीलाई अपहरण गरी भारतमा बेच्न खोजेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दाससहितका व्यक्तिहरुले २०६३ साल मंसिर २१ गते साँझ बाराको करैया पुलमा काठमाण्डौबाट आएको बा २ ख ६४१ नम्बरको दिवा यात्रुबाहक बसलाई रोकेर बसधनीलाई अपहरण गरी लगेका थिए ।
दाससहितका व्यक्तिहरुले कटुवा बन्दुक देखाई बसका धनी खोटाङ्गको दिक्तेल–२ घर भइ भक्तपुर मध्युपुरठिमि नगरपालिका–१५ बस्ने तारा कुमार खत्रीलाई अपहरण गरी उनको साथमा रहेको नगद, मोबाइल र घडी समेत लुटेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
खत्रीलाई दासले अपहरण गरि आफ्नो घरमा राखी फिरौती माग्ने र नदिए भारतमा लगेर बेच्ने योजना बनाएका थिए । तर, खत्री भने अपहरणकारीको आँखा छलेर भाग्न सफल भएका थिए । दास बिरुद्ध मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया