काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।
आज बसेको सो समूहको संसदीय दलको बैठकपछि एक सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जानकारी दिए । वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पक्षमा १ सय ११ जना सांसदले स–शरीर उपस्थित भएर हस्ताक्षर गरेको जानकारी दिए ।
आफ्नो पक्षमा ११५ जना सांसद रहेको र विभिन्न कारणवस योगेश भट्टराई, कृष्णबहादुर महरा, विना पोखरेल र चक्रपाणी खनाल भने आज अनुपस्थित रहेको पनि बताए । बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता पनि चयन गरेको छ । सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो।
संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिएका थिए । ‘प्रचण्डले केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि आफ्नो दलमा आउन आग्रह गरे । संसदीय दलको नेता चयन भएपछि बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।
प्रचण्डले आफनो पक्षमा स्पष्ट बहुमत रहेको बताउँदै केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि यहि संसदीय दलमा आउन आग्रह गरे । अध्यक्ष प्रचण्डले केही अरु सांसदहरु पनि यहि संसदीय दलमा आउन चाहेको उल्लेख गरे ।
–रातोपाटी
प्रतिक्रिया