जनकपुरधाम । जिल्ला सहकारी संघ धनुषाको साधारणसभामा प्रदेश २ का एकजना राज्यमन्त्रीमाथि कुर्सी प्रहार गरिएको बताइएको छ ।
संघका अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवमाथि कुर्सी प्रहार गरेको बताइएको हो ।
फर्जि सदस्यहरुको आडमा संस्थाका निवर्तमान अध्यक्ष हरिचन्द्र हरियौत नेतृत्वको समूहले भ्रष्टाचार लुकाउन साधारणसभा आयोजना गरेको भन्दै अध्यक्ष यादव नेतृत्वको समूहले कार्यक्रममा भाँडभैंलो मचाएका थिए । यादव समूहले गैरकानूनी रुपमा आयोजना भईरहेको साधारणसभा रोक्न आग्रह गर्दा राज्यमन्त्री यादव जाईलागेपछी उनीमाथि कुर्सी प्रहार गरिएको कार्यक्रममा सहभागी शेयर सदस्य संजय कुमार साहले बताए ।
उनले भने,‘हरियौत समूहले संस्थाको चल अचल सम्पत्ति हिनामिना गरेको आरोप लगाउँदै रामबाबुको समूहले साधारणसभा रोक्न खोजेका थिए । त्यतिकैमा राज्यमन्त्री यादवले विवाद मिलाउनुको सट्टा बिचमै खैलाबैला मचाउँदा उनीहरुले उनीमाथि कुर्सी फ्यालेका थिए ।’
यस सम्बन्धमा राज्यमन्त्री यादवले भने,‘म माथि हातपात गरिएको छैन् । संघका पदाधिकारीहरु बीच हिसाब किताब सम्बन्धमा सामान्य विवाद भएको थियो । उनीहरुले मलाई केही गरेका छैनन् ।’
निवर्तमान अध्यक्ष हरियौत र जिल्ला वचत सहकारी संघ धनुषाका अध्यक्ष ध्रुवनारायण यादव लगायतका पदाधिकारीमाथि सहकारी जगेडा कोषको ४७ लाख, सहकारीको घर भाडा वापतको मासिक १ लाख ३२ हजार, राष्ट्रिय सहकारी बोर्डको अनुदान रकम २० लाख र संघको १७ धुर जग्गा कौडिको भाउमा बेचेर रकम अनियमितता गरेको आरोप छ ।
पछिल्लो २४ वर्ष देखि हरियौत नै संस्थाको अध्यक्ष रहि उनीहरुले संघ भित्र गैरकानूनी तरिकाबाट काम गरिरहेको भन्दै बहुमत सदस्यले रामबाबु यादवको अध्यक्षतामा गत वर्ष संघको नेतृत्व चयन गरेका थिए ।
साधारणसभामा संघमा आबद्ध ७९ जना शेयर सदस्य मध्ये ९ जनालाई मात्रै कार्यक्रम बारे जानकारी गराइएको थियो । बाँकी सबै सदस्यहरु रामबाबुको पक्षमा रहेको बताइएको छ । रामबाबु पक्षले फागुन २४ गते राष्ट्रिय सहकारी महासंघको आतिथ्यमा अर्को साधारणसभा गर्ने शेयर सदस्य संजय कुमार साहले जानकारी दिए ।
भिडियो तलको लिंकमा हेर्नुहोस
https://m.facebook.com/story.php?story_fbid=2827466840915464&id=100009565260892
भिडियो साभार : रजनिश साह
प्रतिक्रिया